

आज माघ १५ गते अर्थात १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस । यसै अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजमा आबद्ध स्वयंसेवी रक्तदाताहरुले आज देशका विभिन्न जिल्लाहरुमा विविध कार्यक्रम गरेर मनाएका छन् ।
समाजले आज काठमाण्डौंको प्रदर्शनी मार्गमा रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रमा १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले रक्तदानको सन्देश गाउँगाउँ बस्ती बस्ती पुर्याउनु पर्ने जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “आजभोलीको समयमा जोखिमपूर्ण स्थितिमा बोलाएकै भरमा अरुको ज्यान बचाउनकालागि रक्तदान गर्न जानु महानकार्य हो । संसारमा सबैभन्दा धार्मिक, आध्यात्मिक र महान मान्छे त्यो हो जस्ले आफूलाई त्यागेर अरुलाई सहयोग गर्छ । अहिले यस्तो किसिमको मान्छे नै पाउन गाह्रो छ । तर यो संस्थामा यस्ता दाताहरुको जमघट भएर काम गर्नु नै महत्वपूर्ण हो ।”
कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले समाजको माग अनुसार बाँकी रहेका कर्णाली, मधेश र कोशी प्रदेशमा पिडित पक्षलाई निःशुल्क रगत उपलब्ध गराउनकालागि पत्राचार गरिने समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गत जेठ ५ गते समाजको डोटी शाखाको आतिथ्यतामा High Altitude खप्तडमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने समाजका केन्द्रीय सदस्यहरु बाँके कोहलपूरका गोविन्द वाग्ले, बर्दियाका प्रेमप्रसाद लम्साल, काठमाण्डौंका विमल भित्रकोटी र शिखर नगरपालिका डोटीका पूर्वनगर प्रमुख सिताराम जोशीलाई सम्मान गरिएको थियो । त्यस्तै दुर्लभ रक्तसमूह तथा अनकल्ड रक्तदाताहरुलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आफूहरुले संस्थागतरुपमा उठाइरहनुभएको पिडित पक्षले निःशुल्क रगत पाउनुपर्छ भन्ने मागलाई सरकारले सम्वोधन गर्ने कुरालाई आफूले उत्साह पूर्वक लिँदै सरकारको कदमलाई धन्यवाद व्यक्त गर्नुभयो । डा. घनश्याम खतिवडाले सहजीकरण गर्नुभएको दिवस कार्यक्रममा २६ पिन्ट रगत पनि संकलन गरिएको थियो ।

यसैवीच कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर र दैलेख जिल्लामा पनि १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाईएको छ । वीरेन्द्रनगर ६ स्थित जन नमुना माध्यमिक विद्यालयमा रक्तदाता उत्प्रेरणा अभिमुखीकरण कार्यक्रम गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब ६० जना विद्यार्थीहरुको सहभागितामा कार्यक्रम गरिएको हो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्य, जिल्ला अध्यक्ष अशोक कुमार सिंह तथा कार्यसमिति सदस्य मालती विकले रक्तदान गर्दा आफुले भोगेका अनुभवहरु सुनाउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा समाज सुर्खेतका कोषाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक विकास गिरीले रगत र रक्ततत्वका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनुभएको थियो भने विद्यालयका शिक्षक सापकोटाले रगत मानव जीवनको अमूल्य चिज भएको र रक्तदान नै जीवनदान भएकोले १८औं बर्षको जन्मोत्सवसंगै रक्तदानमा सरिक हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कक्षा १२ मा अध्ययरत विद्यार्थी नवीन शाहीले सहजीकरण गर्नुभएको थियो भने समापन कक्षा ११ का विद्यार्थी सिता सुनारले गर्नुभएको थियो ।
त्यस्तै समाजको दैलेख जिल्ला शाखाले पनि प्रभात फेरी र रक्तदाता अभिमुखीकरण कार्यक्रम गरेर १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाएको छ । कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले रगतको अभाव हुन नदिन युवाहरुलाई रक्तदानमा प्रेरित गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले जिल्ला सदरमुकामको पालिकाको हिसावले नेपाल रेडक्रस सोसाइटीले दैलेख अस्पतालमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रलाई व्यवस्थित, साधन श्रोत सम्पन्न गर्न नारायण नगरपालिकाले सक्दो सहयोग गरिरहेका र त्यस्तो सहयोग निरन्तरता रहने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रक्तदान परोपकारी काम भएकोले रगत दिने व्यक्तिलाई पनि आत्मसन्तुष्टी हुने बताउनुभयो भने नारायण क्याम्पसका निमित्त क्याम्पस प्रमुख नरेन्द्र उपाध्यायले रक्तदान अभिमुखीकरणको महत्वबारे प्रकाश पार्नुभयो । त्यस्तै दैलेख अस्पतालका ल्याव टेक्निसियन टकबहादुर भण्डारीले रक्तदान गर्न चाहनेहरुले रगत दिने विधि र रगत दिइने व्यक्तिलाई रक्त सञ्चार गराउने प्रक्रियाका विषयमा प्रकाश पानुभएको थियो ।
कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका दैलेखका अध्यक्ष अमर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै समाजको कास्की शाखाले १९औं राष्ट्रिय स्वयंसेवी दिवसको अवसरमा स्वयंसेवी रक्तदाताहरुको २ दिने Complity Blood Count (CBC) परिक्षण कार्यक्रम गरेको छ । भोली सम्म चल्ने कार्यक्रममा करिब १ सय जना स्वयंसेवी रक्तदाताहरुको CBC गरिने समाजको कास्की शाखाका अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो । साथै आज नै दिवसको अवसरमा कास्की शाखाले आफ्नो कार्यालय पनि स्थापना गरेको छ । कार्यालय स्थापनाको गर्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले आकस्मिक रक्ततत्वहरुकालागि नेपाल स्वयंसेवी रक्तदाता समाजको कार्य सह्रानीय रहेको बताउनुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि अधिवक्ता नारायण बहादुर अधिकारीले नेपाल स्वयंसेवी रक्तदाता समाजले गरिरहेको कार्य उदाहरणीय रहेको बताउँदै आफू समाजको हरेक गतिविधीमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।
समाजका सचिव विशाल अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा पश्चिमाञ्चल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि ले CBC परिक्षण गरेको थियो ।
यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज डोटी शाखाले १९ औ वार्षिक उत्सवको अवसरमा जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई मङ्गलवार फलफूल वितरण गरेर मनाएको छ । सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित संस्थाले आम नागरिकका साझा सवालमा एकजुट भएर अगाडी बढ्नु पर्छ भन्ने सन्देश प्रवाह होस भन्ने हेतुले विभिन्न कार्यक्रम गर्नुका साथै बिरामीहरूलाई फलफूल वितरण गरी दिवस मनाइएको समाज डोटी शाखाका उपाध्यक्ष खेमराज गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हाम्रो मुख्य उद्देश्य भनेको डोटीमा आम नागरिकले आवश्यक परेको समयमा निःशुल्क तथा सहज रूपमा रगत पाउन भन्ने हो सोही अनुरूप पहल भइरहेको छ ।
जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामीहरूलाई फलफूल वितरण गरी संस्थाको कार्यको बारेमा जानकारी गराउँदा एक खालको सन्देश प्रवाह भएको जिल्ला अस्पताल डोटीमा मे. सु. सुजित मण्डलले बताउनुभयो ।
कार्यक्रममा समाजको डोटी शाखाका पदाधिकारीहरू, स्थानीय, स्वास्थ्यकर्मी, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

Prawash Kumar Shakya । १५ माघ २०८१, मंगलवार २०:२७ बजे