६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने आफ्नो भारत भ्रमणबाट आफूले ‘ठूलो अपेक्षा’ गरेको बताएका छन् । त्यो अपेक्षा भारतबाट मित्रवत व्यवहार भएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री ओली भोलि अपराहृन भारतको छ दिने भ्रमणमा जाँदैछन् । भारत जानु अघिल्लो दिन पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणलाई नेपाल र भारत दुबैले धेरै महत्व दिएको र यो राजकीय भ्रमण भएको बताए ।
केही असमझदारीले नेपाल र भारतबीचको पुरानो मित्रवत सम्वन्ध दिगभ्रमित भएको भन्दै उनले आफ्नो भ्रमणको एजेण्डा त्यसलाई बाटोमा (पुरानै अवस्थामा) फर्काउने भएको बताए । भ्रमणबारे आफूले ठूलो अपेक्षा गरेको भन्दै प्रधानमन्त्री ओलीले भने-‘त्यो भनेको मित्रवत सम्वन्ध र व्यवहारको अपक्षा गरेको छौं र आफ्नोतर्फबाट पनि त्यही दिन सक्छौं ।’
उनले अघि भने-डोको भरी केही लिएर आउँछौं भनेर भन्दैनौं । मित्रताको भाव लिएर जान्छौं र त्यही अपेक्षा गर्छौं ।’
भ्रमणका क्रममा भारतीय समकक्षी मोदीका साथै उद्योगी व्यापारीहरुसँग भेटवार्ता हुने भन्दै उनले आफ्नो तीन एजण्डा हुने बताए । पहिलो, नेपालको सम्वन्धमा कुनै भ्रम नहोस् । र, दुई देशबीचको मित्रता ठीक होस् । दुई, नेपालमा लगानी गर्ने वातावरण छ भन्ने सन्देश दिने र तीन, नेपाल र भारतबीचको बहुआयामिक सम्वन्धलाई सवल बनाउने ।
नेपालीमा लगानी गर्न आश्वयक रहनुका साथै सजिलो, लाभदायक र सुरक्षित रहेको सन्देश भारतीय उद्योगीहरुलाई दिने उनले बताए । ओलीले अघि भने, भारतलाई पानी धमिल्याएर पठाउँछ कि भन्ने पीर छ । ओरिजिनल पानी नै बग्छ । हिउँदमा सङ्गो बग्छ, वर्षामा बाढी आउँछ ।’
राष्ट्रहित विपरित सम्झौता गर्दिँन
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा दुरगामी महत्व राख्ने र राष्ट्रहित विपरित कुनै सम्झौता नहुने बताए ।
मित्रता प्राप्त गर्नु नै ठूलो हुने भन्दै उनले भने, हामी धेरै दुरगामी महत्व राख्ने सहमति गर्न खोजिरहेका छैनौं । दुई देशको सम्वन्धमा भत्किएको जग राम्रोसँग तयार गर्न चाहन्छौं ।’
सीमा लगायतका विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्नमा उनले यो भ्रमण दुई देशबीचको थाँती रहेका विषयहरु समाधान गर्ने बेला नभएको बताए । प्रधानमन्त्री ओलीले आफूलाई सबैले भारतसँगको सम्वन्ध सुधार गर्न र देशहित विपरित सहमति नगर्न सुझाव दिएको सुनाए ।
तास खेल्दिँन, कार्ड प्रयोग गरेको छैन
प्रधानमन्त्री ओलीको भ्रमणको पूर्वसंध्यामा भारतमा चाइना कार्ड प्रयोगको चर्चा समेत भएको छ । यसबारे सोधिएको प्रश्नमा उनले ठट्यौली शैलीमा ‘म तास जुवा खेल्दिँन, त्यसैले कार्ड प्रयोग गर्न आउँदैन’ भन्ने जवाफ दिएका छन् ।
साथै प्रधानमत्री ओलीले नेपालले चीन र भारत दुबैसँग मित्रवत सम्वन्ध चाहेको भन्दै कसैका विरुद्ध कुनै पनि कार्ड प्रयोग नगर्ने बताए । आफूले कूटनीति भन्दा इमान, मित्रतामा विश्वास गरेको बताए ।
साभारः अनलाइन खबर



Milan Shrestha । ६ फाल्गुन २०७२, बिहीबार १२:१४ बजे