
सुर्खेत । दन्त स्वास्थ्य सम्बन्धि सुलभ, सुरक्षित र गुणस्तरीय सेवा दिने उद्देश्यले कर्णाली प्रदेशकै पहिलो डेन्टल अस्पताल संचालनमा आएको छ । साविक वीरेन्द्रनगर ६ मा मध्यपश्चिम डेण्टल क्लिनिक संचालन गरी सेवा दिंदै आउनुभएका जीवन वञ्जाडे जैसीले सेवासुविधाको विस्तार एवं स्तरोन्नतिसंगै वीरेन्द्रनगर ९ लाटीकोइलीमा अस्पताल संचालनमा ल्याउनुभएको हो ।
आज शनिबार भएको एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले अस्पताल उद्घाटन गरी सेवारम्भको शुभारम्भ गर्दै उहाँले विकसित र सुविधासम्पन्न देशहरूबाट दाँतसम्बन्धि उपचारका लागि नेपालमा वर्षेनी सयौं पर्यटक आउने गरेको उल्लेख गर्दै अत्याधुनिक उपकरणहित गुणस्तरीय सेवा दिन सकिए कर्णालीलाइ स्वास्थ्य पर्यटन हब बनाउन सकिने जिकिर गर्नुभयो ।
‘हामी दाँत दुख्दा कहिले कागति पोलेर त कहिले ल्वाङको तेल हालेर घरेलु उपचार गर्थिम् ।’ मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिले आफ्नै घरआँगनमा समयअनुसारका आधुनिक सेवा पाउने भैसकेका छौं । दाँतसम्बन्धि स्वास्थ्य समस्यामा रहेपनि आर्थिक अभावका कारण उपचार पाउन नसक्ने अवस्थाका विरामीलाइ व्यवसायिक सामाजिक उत्तरदायित्व वहन गरी निःशुल्क सेवा दिनपनि उहाँले सुझाव दिनुभयो ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का अध्यक्ष ऋषिकुमार गिरीले सडक विस्तार भएसंगै काँक्रेविहार र शिवमन्दिर दर्शनका लागि मात्र नभइ दाँतसम्बन्धि उच्चस्तरको सेवा लिन पनि अब लाटिकोइली आउनुपर्ने भएको जिकिर गर्नुभयो ।
यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले सेवा र गुणस्तरलाइ निरन्तरता दिनसके मात्र व्यवसाय दिगो र सफल हुने धारणा राख्नुभयो ।
वि.सं. २०६२ सालमा वीरेन्द्रनगर ६ मा सामान्य दन्त क्लिनिकका रूपमा सेवारम्भ गरेको सम्झदैं कार्यक्रममा अस्तपतालका प्रवन्ध निर्देशक जीवन वञ्जाडे जैसीले कर्णाली कै पहिलो अत्याधुनिक सुविधासम्पन्न डेण्टल हस्पिटलका रूपमा स्थापित हुनुमा सेवाग्राहीहरूको विश्वास, भरोसा र स्नेहपनि उत्तिकै रहेको उल्लेख गर्नुभयो ।
अस्पतालबाट दाँत सफा गर्ने, फिलिङ र नियमित जाँचदेखि रुट क्यानल, दाँत प्रत्यारोपण (डेन्टल इम्प्लान्ट), र बांगाटिंगा वा नमिलेका दाँतलाइ एकलहरमा मिलाउनका लागि ब्रेसेस अर्थात (अर्थोडन्टिक्स) सेवा दिने उहाँले जानकारी दिनुभयो ।
यसैगरी जटिल दन्त शल्यक्रिया तथा डिजिटल एक्स-रे, 3D इमेजिङ, र अन्य अत्याधुनिक उपकरणहरू मार्फत सटीक निदान हुने गरि सेवा प्रदान गर्न आफूहरू तत्पर रहेको प्रवन्ध निर्देशक वञ्जाडेको भनाइ छ ।
कर्णालीका ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई गुणस्तरीय दन्त उपचारको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै उनले आफ्नो सेवालाई थप समावेशी बनाउन विभिन्न आर्थिक अवस्थाका सेवाग्राहीहरूलाई ध्यानमा राखी किफायती शुल्क संरचना तयार गरेकोपनि जानकारी दिनुभयो ।
महिला स्वयंसेविकालाइ सम्मान
मध्यपश्चिमाञ्चल डेण्टल अस्पताल प्रा.लिको शुभारम्भका अवसरमा एक जना सेवानिवृत्त महिला स्वयंसेविकालाइ सम्मान गरिएको छ ।
वि.सं २०४५ देखि २०७२ सम्म करिव २७ वर्षसम्म महिला स्वयंसेविकाका रूपमा कार्यरत रहनुभएकी वीरेन्द्रनगर ९ लाटिकोइलीकी वीरमा श्रेष्ठलाइ नगद ५ हजार ५ सय ५५ र दोसल्लासहित सम्मान गरिएको हो ।
बिना कुनै प्रतिफलको आश नगरी महिला स्वयंसेविकाका रूपमा निःस्वार्थ रूपमा उहाँले पुर्याएको योगदानको सम्मान र नयाँ पुस्तालाइ प्रेरणा होस् भनेर यसरी सम्मान गरिएको अस्पतालका प्रवन्ध निर्देशक बञ्जाडेले बताउनुभयो ।
अबदेखि प्रत्येक वर्ष अस्पताल स्थापना दिवसका अवसरमा यसरी नै ओझेलमा परेका महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको सम्मान गरिने बताउँदै उहाँले सम्मान राशीपनि क्रमिक रूपमा बढाउँदै जाने प्रतिवद्धता जनाउनुभयो ।
यसै अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वयमा १३ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्रमा जम्मा गरिएको छ ।
Prawash Kumar Shakya । १८ जेष्ठ २०८२, शनिबार १४:५३ बजे