-श्रवण कुमार मिश्र
‘स्क्रब टाइफस’ यो एक प्रकारको सरुवा रोग हो । यो ‘ओरिनसिया सुसुगामुसी’ नामक जीवाणुले गर्दा हुन्छ । मुसा (माइट) प्रजातिमा पाइने लार्भा चरणको ‘टोम्रविक्युलिट माइट’ नामक वाहकले यो रोग सर्दछ । यो रोगको जीवाणु सबैभन्दा पहिले सन् १९३० मा जापानबाट पत्ता लागेको थियो । हाल, आएर नेपालमा पनि यो रोगको प्रकोप देखिन थालेको छ । पछिल्लो तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्या आठ पुगिसकेको छ । त्यसैले, यो रोगको उत्पन्न प्रकोपलाई तत्काल नियन्त्रण गर्न जरुरी छ । दक्षिणपूर्वी एसियामा यो रोगको प्रकोप अलि बढी छ ।
सर्ने तरिका
यो ‘माइट’को जीवनचक्र एग, लार्भा, निम्फ र एडल्ट गरि चार चरणमा पूरा हुने भएपनि, लार्भायुक्त अवस्थाले मात्र यो रोग सार्दछ । ‘माइट’ले टोकेको भागमा कालो रंगको ‘ब्ल्याक इसकार’बग्छ, जसबाट ‘स्क्रब टाइफस’को प्रारम्भिक पहिचान गर्न सहयोग पुग्दछ । विशेषगरी यो रोग लागेको माइट(सुक्ष्म किरा)ले टोक्दा वा यसबाट संक्रमित मानिस तथा खाद्य पदार्थको सम्पर्कबाट यो रोग सर्दछ ।
लक्षणहरु :
यो रोगको लक्षण मुसाले टोकेको १०–१२ दिनमा देखिन सुरु गर्दछ । लक्षणहरु निम्नप्रकार छन् :
– उच्च ज्वरो आउनु(१०४–१०५ डिग्री फरेनहाइटसम्म आउन सक्छ ।)
– टोकेको भागमा तथा अन्य भागमा राता–राता बिमिराहरु देखिनु ।
– टाउको दुख्नु, भोक नलाग्नु ।
– खोकी तथा वाकवाकी लाग्नु ।
– शरीर काम्नु, जीउ, मांसपेशी तथा जोर्नी दुख्नु ।
– लिम्प नोड सुनिनु ।
– आँखाको कम्युकस मेमरेनको संक्रमण हुनु, आदि ।
रोग निदान :
चिकित्सकले विभिन्न लक्षणहरुको आधारमा विरामीको प्रारम्भिक पहिचान गरेपछि, प्रयोगशालाको जा“चबाट यो रोगको निदान गरिन्छ । हाल यो रोगको प्रयोगशालाको जा“च ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ टेकुले गर्दै आएको छ । बिरामीको रगतमा भएका आई.जी.एम. प्रकारको एन्टिबडी पत्ता लगाई, यो रोग लागे/नलागेको प्रमाणित गरिन्छ ।
बच्ने उपायहरु
– व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने ।
– सुक्ष्म जीवहरु(माइट) जस्तै सुलसुले, उपिया“, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने ।
– घर वरपर झारपात तथा घा“सपात उम्रन नदिने ।
– रोग सर्ने भेक्टर(बाहक), किटनाशक औषधीको प्रयोग गरी घटाउने ।
– घरवरपरको वातावरणीय सरसफाइमा ध्यान दिने ।
– छालामा ‘इनसेक्ट रेपेलेन्टस’जस्तै बेञ्जाइल बेञ्जोएटको प्रयोग गर्ने ।
अन्त्यमा, त्यसैले बेलैमा यो रोगको पहिचान, उपचार र नियन्त्रण गर्न सके सम्भावित धनजनको न्युनिकरण गर्न सकिन्छ । समयमै यो रोगबाट उत्पन्न प्रकोपलाई नियन्त्रण गर्न, तत्काल सम्बन्धित निकायको ध्यान जाओस् । के त्यसका लागि हामी तयार छौं ?
(भाइरोलोजिष्ट मिश्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा कार्यरत छन् ।)
साभारः स्वास्थखबर पत्रिका



Prawash Kumar Shakya । ३१ श्रावण २०७३, सोमबार १७:१२ बजे