
महेन्द्रनगर, कञ्चनपुर | नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आज आफ्नो १८३ औं पटकको रक्तदान गर्नुभएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले कञ्चनपुरको महेन्द्रनगरस्थित रक्तसञ्चार केन्द्रमा १८३औं पटक रक्तदान गर्दै पुनः एकपटक मानव सेवाको अनुपम उदाहरण पेश गर्नुभएको हो ।
रक्तदानलाई ‘जीवनदान’ ठान्ने कर्माचार्यको यो यात्रामा संख्या केवल आँकडा हो, तर पछाडि लुकेको उद्देश्य धेरै गहिरो छ । ज्यान बचाउने संकल्प। उहाँ भन्नुहुन्छ: “रगतको विकल्प अरू केही छैन् । त्यसैले १८ वर्ष पुगेका युवाले आफ्नो जन्मदिन सँगै रक्तदान गरेर मनाउनुपर्छ । त्यो नै एउट उत्कृष्ट उत्सव हो ।”
“दान गरिएको रगत निःशुल्क हुनुपर्छ”
कर्माचार्यले संस्थागतरुपमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट दानमा दिइएको रगत नागरिकलाई निःशुल्क उपलब्ध गराउनुपर्ने स्पष्ट माग गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “रक्तदाताले रगत दान दिन्छन् पैसा लिँदैन, तर रक्तसञ्चार केन्द्रले नागरिकसँग परिक्षण गरेको शुल्क लिन्छ । दान गरिएका वस्तुमा व्यापार गर्नु अमानवीय हो । त्यसैले सरकारले आफ्ना नागरिकहरुकालागि निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउनुपर्छ ।”
देशैभर रक्तदानको चेतना फैलाउँदै : कर्मसँगै प्रेरणा पनि बाँड्दै
‘रक्तदाताले कहिल्यै सीमा हेर्दैनन्” भन्ने नारालाई आत्मसात गर्दै उहाँले देशका दर्जनौं जिल्लाहरुमा पुगेर स्वयं रक्तदान गर्दै युवाहरूलाई जागरूक बनाउँदै आउनुभएको छ । उहाँले जुम्ला, डडेल्धुरा, सुर्खेत, बाँके, गोरखा, बर्दिया, नुवाकोट, स्याङ्जा, बझाङ्ग लगाएका जिल्लाहरुमा पुगेर रक्तदान गर्दै गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ “रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्थालाई वर्षमा एकपटक होइन, कम्तीमा चारपटक रक्तदान गरौं ।”
सर्वाधिक शतक रक्तदाता कर्माचार्यको अतुलनीय योगदानको कदर गर्दै विभिन्न संघ–संस्थाले उहाँलाई “रक्त सम्राट”, “राष्ट्रिय रक्तनायक” जस्ता उपाधिहरूबाट सम्मानित गरिसकेका छन् । यी उपाधिहरूले उहाँको निरन्तर सामाजिक सेवालाई देशभर फैलाएको छ ।
१८३ पटक रक्तदान गर्नुभएका प्रेमसागर कर्माचार्यले जुन उदाहरण प्रस्तुत गर्नुभएको छ, त्यो केवल प्रेरणा होइन मानवता र सहानुभूतिको सशक्त प्रतिबिम्ब हो । युवापुस्ताका लागि उहाँको जीवनशैली एउटा जीवित पाठशाला हो । जसले सिकाउँछ: “रगत दान गरौं, जीवन बचाऔं।”




Prawash Kumar Shakya । २१ असार २०८२, शनिबार १५:१५ बजे