
वीरेन्द्रनगर, सुर्खेत । नेपाल मोबाइल व्यवसायी महासंघले आफ्नो स्थापना दिवसको अवसरमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महासंघको कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा व्यवसायी तथा स्वयंसेवीहरू गरी ३७ जनाले रक्तदान गरेका छन् ।
महासंघका कर्णाली प्रदेश अध्यक्ष भगतबहादुर रावल (भरत) ले स्थापना दिवसलाई देशभर सामाजिक कार्यसहित मनाउने अभियान अन्तर्गत सुर्खेतमा रक्तदान आयोजना गरिएको बताउनुभयो । उहाँले रक्तदानलाई ‘मानवीय जीवन रक्षाको सर्वोत्तम कार्य’ को संज्ञा दिँदै भन्नुभयो, “हाम्रो यो सानो प्रयासले सुर्खेतमा देखिने रगतको अभावलाई केही हदसम्म भए पनि सहज बनाउने छ भन्नेमा हामी विश्वस्त छौं । व्यावसायिक कर्मसँगै सामाजिक उत्तरदायित्वलाई पनि हामीले सधैं प्राथमिकतामा राखेका छौं ।”
महासंघ, सुर्खेतका अध्यक्ष कुसुम रावलका अनुसार, कार्यक्रममा महासंघमा आबद्ध व्यवसायीहरू तथा अन्य स्वयंसेवी रक्तदाताहरूको उत्साहपूर्वक सहभागिता जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, सुर्खेतको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममार्फत ३७ पिन्ट रगत संकलन भएको रक्तप्राविधिक विकाश गिरीले जानकारी दिनुभयो ।
व्यावसायिक हकहितमा मात्र सीमित नरही महासंघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान जस्तो सामाजिक उत्तरदायित्वको काम गर्नु अनुकरणीय रहेको सहभागीहरूले बताएका छन् । यस कार्यक्रमले रगतको आवश्यकता परेका बिरामीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।



Prawash Kumar Shakya । २७ असार २०८२, शुक्रबार १२:१४ बजे