
सुर्खेत । नेपालीहरूको मौलिक संवत् नेपाल संवत् ११४७ को शुभारम्भ कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि विविध सांस्कृतिक कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ ।
नेपाल संवत्को नयाँ वर्षको अवसरमा नेवाः देय् दबु सुर्खेतको आयोजनामा लाखे तथा कुमारी झाँकीसहित बजार परिक्रमा, शुभकामना आदानप्रदान, कुमारी नृत्य र म्हः पूजा प्रदर्शनीलगायत कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय घण्टाघर डबलीबाट सुरु भएको लाखे तथा कुमारी झाँकीसहितको सांस्कृतिक र्यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात् पुनः घण्टाघर डबलीमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रममा नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा लाखे र कुमारी नृत्य प्रस्तुत गर्नुका साथै नेवार समुदायको मौलिक परम्परा म्हः पूजा कसरी गरिन्छ भन्ने विषयमा प्रदर्शनीमार्फत जानकारी दिइएको थियो । यसले नेपाल संवत् र नेवार समुदायको मौलिक संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष हस्तबहादुर गुरुङ्गले राष्ट्रिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सञ्चालनमा ल्याएको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो । उहाँले नेपाल संवत्लाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने माग गर्दै नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविध जातजातिको साझा पहिचान बोकेको मुलुक भएको बताउनुभयो । साथै, मौलिक भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षणमा नेवार समुदायको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

त्यस्तै, नेवाः देय् दबु सुर्खेतका सल्लाहकार यामबहादुर श्रेष्ठ ले नेपाल संवत्को ऐतिहासिक पृष्ठभूमि, महत्व तथा म्हः पूजाको सांस्कृतिक र धार्मिक पक्षबारे प्रकाश पार्नुभएको थियो ।
नेवाः देय् दबु सुर्खेतका अध्यक्ष तीलाकुमारी शाक्य (श्रेष्ठ) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिव बालकृष्ण श्रेष्ठ ले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २५ कार्तिक २०८३, मंगलवार १४:१५ बजे