बालाजु र लगनखेलमा गरि ९७ पिन्ट रगत संकलन


काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा देशकै सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा काठमाडौँ महानगरपालिका–१६, बालाजु बाइपास र ललितपुरको लगनखेलमा आयोजित संयुक्त रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रम बिज्ञान पूर्व विद्यार्थी सामाजिक संस्था, तादी गाउँपालिका–५ नर्जामण्डप (नुवाकोट)ले बालाजु बाइपास तथा यल नेवा: समाज र संस्था विकास समितिले ललितपूरको लगनखेलमा सम्पन्न गरेको हो ।

कार्यक्रममा सर्वाधिक शतक रक्तदाता कर्माचार्यलाई यल नेवा: समाजका उपाध्यक्ष न्हुक्ष नेम्कुलले परम्परागत खादा पहराई सम्मान गर्नुभएको थियो भने सल्लाहकार रत्नमान चित्रकारले सम्मानपत्र प्रदान गरी सार्वजनिक रुपमा कदर व्यक्त गर्नुभएको थियो ।

दुई स्थानमा आयोजित कार्यक्रममा महिला ३२ र पुरुष ६५ गरी कुल ९७ जना स्वयंसेवी रक्तदाताले रगतदान गरेका थिए । रक्तदातालाई केन्द्रीय अध्यक्ष कर्माचार्यले प्रमाणपत्र प्रदान गर्दै मानव जीवन रक्षणमा दिएको योगदानप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजक संस्थाहरूले निरन्तर रक्तदान अभियानलाई सुदृढ बनाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।