
माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरु मलाई नै पर्खेर बसेको जस्तो लाग्यो । हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँ बायाँका सवै स्थानहरु हेर्न र फोटो भिडियो क्लिक गर्न सहज भयो ।
ज्योति कटुवाल हर कसैलाई कहिँ कतै अचानक जान सम्भव हुँदैन र सकिँदैन पनि । घुम्न जानलाई जति धेरै योजना बनाए पनि सफल भने कमै हुन्छन् । म मनले बोलाएको बाटो हिँडिरहने भएर होला मौका पाउन बित्तिकै यात्रामा निस्किहाल्छु । त्यसैले मैले आफूलाई अचानक यात्री भन्न रुचाउँछु । फेरि यात्रा भन्नासाथ केवल स्थान परिवर्तन मात्र हैन आत्माको चहलपहल हो । जहाँ हरेक पाइलामा नयाँ अनुभूति, हरेक मोडमा नयाँ दृष्य र नयाँ मानिसहरु भेटिन्छन् । यस्तै अचानक यात्राहरु मैले थुप्रै पटक गर्न पाएको छु ।
भदौ महिना यता मैले बिर्सन नसक्ने यात्रा गरेँ । हुम्लाको हिल्सा नाका र पोखराको अन्नपूर्ण बेस क्याम्प । जहाँ म एक्लै यात्रा गर्न सक्दैनथें । बेस क्याम्प जान पाउने कुराले मनमा अनेकौं प्रश्न उठेका थिए । त्यो हिउँको घुम्टो ओढेर आकाशमुनी चम्किरहेको हिमालको स्पर्श यति सहजै गर्न पाउँला भन्ने लागेको पनि थिएन । म यहाँ आउने मौका अचानक पाएँ र निस्किहालें पनि ।
सुर्खेतमा अन्य कामहरु थाती राखेर अफिसमा खबर गरेर पोखरातर्फ निस्किएँ । मैले घुमेका अधिकांश स्थानहरु सम्झने हो भने प्राय योजना बनाएर गएका स्थानहरु कमै छन् । त्यसमध्येको एक हो अन्नपूर्ण बेस क्याम्प । सुर्खेतदेखि हेलिकोप्टरमा पोखरा पुग्न एक घण्टा लाग्यो । हेलिकोप्टरको मेरो यो यात्रा पहिलो थिएन । त्यसैले मलाई सहज लाग्छ जता जाँदा पनि ।

सुर्खेत एयरपोर्टबाट छुट्टिनासाथ बाटोमा निकै रमणीय स्थानहरु देख्न सुरु भयो । सुर्खेत, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, म्यादी र बाग्लुङ हुँदै पोखरा पुगियो । सुर्खेतबाट निस्कँदा मध्यपहाडी र भेरी करिडोरले फेरो हालेका गाउँबस्तीहरु हेर्दा यस्तो लाग्छ यहाँ यतै झरेर बसौं झै लाग्ने । तकसेराका सुन्दर बस्तीहरुले मनै लोभ्यायो । ढोरपाटन आरक्षमा विभिन्न प्रजातिका वन्यजन्तुका बथान आकाशबाटै देख्न पाउँदा जंगल सफारी गरेजस्तै अनुभूति भयो । नजिकै आकाश मूनिबाट वनजंगल, चरिरहेका वन्यजन्तु सजिलै देख्न सकिन्थ्यो । मैले एक घण्टामा आकाशबाट जमिन मूनि देखेका कुराहरु मेरा मानसपटलमा अहिले पनि ताजै छन् ।

फोटो भिडियो गर्दागर्दै पोखरामा अवतरण भएको थाहै भएन । १ घण्टामा मैले आँखाले भ्याउने जति ठाउँहरु हेरे पनि र मोबाइलमा कैद पनि गरें । पोखराको पुरानो विमानस्थलबाट बेस क्याम्पमा पर्यटकहरु पुर्याउन जाने र छोड्न जाने हेलिकप्टरलाई भ्याईनभ्याई थियो । ४ बजे पोखरा पुगेपछि कान्तिपुरकर्मी प्रतिक्षा काफ्ले, फूपु रन्जना, बहिनी मनिषा र साथमा सुर्खेतबाटै गएका पत्रकार भाई जगत सापकोटा भएपछि हामी खाजा खाँदै अर्कोदिन अन्नपूर्ण जाने तयारी गर्यौं । बेलुका पोखरामै बास बस्यौं ।

बिहान ७ बजे एयरपोर्ट जानुपर्ने थियो । बिहान होटलमा गाडी लिन आएपछि तयारी अवस्थामा रहेका हामी एयरपोर्ट पुग्यौं र टिकट र तौल जाँचपछि हामी अन्नपूर्णको लागि उड्यौं । हेलिकप्टर चढेर १५ मिनेटमै बेस क्याम्पमा पुगिन्छ भन्ने कल्पना त मैले गरेको थिएन । तर म आफैं कल्पना गरेको भन्दा धेरै फरक यात्रा थिएँ । अन्नपूर्णलाई नियाल्न मानिसहरु ७ देखि १० दिनको ट्रेक प्याकेज बनाएर जाँदा रहेछन् । तर हामी भने दुई दिनको यात्रामा थियौं ।
पोखराबाट हेर्ने हो भने शीरमै माछापुच्छ्रे बिहानको घामले निकै रापिलो देखिने रहेछ । माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरु मलाई नै पर्खेर बसेको जस्तो लाग्यो । हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँ बायाँका सवै स्थानहरु हेर्न र फोटो भिडियो क्लिक गर्न सहज भयो । अझै पाइलटले आफूले जाने बुझेका ठाउँ र हिमालका बारेमा मजाले जानकारी गराउँदै लगे । माछापुच्छ्रेलाई नजिकबाट दर्शन गरियो । नदीको स्पर्श गर्न किनारै किनार जानुपर्छ भने झै अन्नपूर्णको स्पर्श गर्न पनि हिमालको काखबाटै जानुपर्ने रहेछ ।

बिहानको तातो घामले निस्किएको बाफ स्पर्श गर्दै बेस क्याम्प पुगियो । हेलिकप्टरमा जाँदा अर्को फाइदा के रहेछ भने एक फन्को घुमाउँदा चारैतिरका हिमाल नजिकबाट निहाल्न पाइने रहेछ । बेस क्याम्पबाट पनि हिमाल देख्न नसकिने हैन तर, उचाईका हिसाबले नजिक गएको जस्तो महसुस हुने रहेछ । बेस क्याम्पमा भने विदेशी र स्वदेशी पर्यटकहरुको घुइँचो थियो । म ४ हजार १३० मिटर उचाईमा रहेको हिमालमा पुगेको थिएँ । तर उचाईमा लेक लाग्ला भन्ने डर कता कता मनमा उत्पन्न भइरहेको थियो त्यो भन्दा पनि म पनि अन्नपूर्ण पुगें भन्ने कुराले दंग थिएँ । पर्यटकहरु बिहानको खाजा खाने लाइनमा थिए । कोही हेलिकप्टरबाट पोखरा फर्कने पालो कुर्दै थिए भने कोही हतार हतारमा हेलिकोप्टरको नजिक पुगेर फोटो भिडियो बनाउँदै थिए । कोही ट्रेकिङबाटै फर्कने लाइनमा हिउँ पन्छाउँदै धारिला ट्रेक्रर लठ्ठी टेकेर फर्कँदै थिए । बिहान त यस्तो लाग्दै थियो कि एउटा बस्तीमा हिउँपानी परेर चिसो छल्न मानिसहरु माथि डाँडामा निस्केर लस्करै बसेका जस्ता देखिन्थे । सबैजना फोटो भिडियो पालैपालो खिचिरहेका थिए । कोही चुपचाप बसेर हिमाल नियालिरहेका थिए भने कोही ध्यानमा बसिरहेका थिए । कोहीलाई टिकटक बनाउन भ्याईनभ्याई थिए त कोही कफी चिया बोकेर चारैतिर हिमाल हेर्दै बसेका थिए । तर म भने आफ्नो फोटो भिडियो र हिमालका राम्रा तस्बिर लिन व्यस्त थिए ।
अन्नपूर्णमा मैले देखेका पर्यटकहरु १५ वर्षदेखि ८० वर्ष उमेर समूहका मानिसहरु पुगेका थिए । यहाँ ९० प्रतिशत मानिसहरु ट्रेकमा आउने रहेछन् । म पनि करिब दुईघण्टा हिउँमा लुटपुटिएर अन्नपूर्णको आभास सकेर पोखरा लागेँ । त्यो मनोहर दृश्य मेरो मस्तिष्कमा अहिले पनि ताजै छ । जतिसुकै जस्तासुकै रमाइला ठाउँ भए पनि छाडेर अघि बढ्नैपर्छ । यो ठाउँ छाड्ने मन पटक्कै थिएन तर छाडेर अघि बढ्नै पर्यो । दुई दिनको यात्रमा मलाई अन्नपूर्ण यस्तो लाग्यो ‘अन्नपूर्ण केवल ट्रेक हैन अनुभूतिको पुस्तक हो ।’ आहा यस्तो पो ‘एबीसी’ यहाँजस्तो पर्यटक र अद्भूत दृश्य मैले कहिल्यै देखेकी थिइनँ । अन्नपूर्ण आधार शिविर क्षेत्र यस्तो राम्रो प्रवर्द्धन भएको छ भनेर मैले कल्पनासमेत गरेको थिएनँ ।
समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईमा रहेको यो स्थान जता हेर्दा पनि चाँदी जस्तै झलल टल्केको हिमाल । सुन जस्तै टल्कने माछापुच्छे । यहाँ त हिमालले घेरिएको समथर फाँटबाट दर्जनौं हिमशृंखला हेर्न पाइने रहेछ ।उचाईको हिसाबले र हिउँ परेका स्थानहरु अन्य ठाउँमा पनि छन् तर यहाँको जस्तो व्यवस्थापन र पर्यटकहरुलाई गर्ने रेस्पोन्स मैले अन्य स्थानमा पाएको थिएनँ । दैनिक हजारौं मानिसहरु हिमाल उक्लिएका छन्, ओर्लिएका छन् । तर न कसैले कसैको गुनासो गरेका छन् न पानी बत्तिको कुरा गरेका छन् न सडक शौचालयको । यहाँ हरेक एक घण्टाको फरकमा होटल र रेस्टुरेन्ट र वाइफाईको राम्रो व्यवस्थापन रहेछ । कति सफा होटलहरु । खाना पनि कुनै कमी नहुने रहेछ । जस्तो खान मन लाग्यो उस्तै पाइने । यहाँको पदमार्गले त मोहनी नै लगाउँछ । बिहान ७ बजेदेखि हिमाल उक्लने र पोखरा झर्ने विदेशी र नेपाली पर्यटकहरु लस्करै देखिन्छन् ।

अहिले यस क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरूको आगमन बढ्दो छ । हिमाल आरोहणका लागि विदेशी पर्यटक यस आधार शिविर पुग्ने धेरै पुग्ने गर्दछन् । अन्नपूर्ण गाउँपालिकाले पदमार्गलाई निकै राम्रो व्यवस्थापन गरेको रहेछ । नेपालमा रहेका अधिकांश ट्रेकमध्ये निकै रोमाञ्चक र सहज पद मार्गका रहेछ । मलाई अन्नपूर्ण यस्तो लाग्यो ‘प्रकृतिले बनाएको एउटा विशाल रंगमञ्च’ । हिमालहरु यति नजिक देखिने गन्तव्य कमै हुन्छन् । मलाई त यस्तो यात्रा गर्दा ‘यात्रा केवल यात्रा हैन, आत्मालाई शान्त पार्ने गहिरो अनुभूति हो’ जस्तो लाग्छ ।



Prawash Kumar Shakya । ४ मंसिर २०८२, बिहीबार १२:०३ बजे