लाटीकोइलीको सडक बत्ती “दो दिनकी चाँदनी, फिर अँधेरी रात”


१ जेठ, सुर्खेत । हिन्दीमा एउटा उखान छ “दो दिनकी चाँदनी, फिर अँधेरी रात”  । अहिले यही उखान वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइली क्षेत्रमा जडान गरिएको सडक बत्ती योजनामा चरितार्थ भएको स्थानीयवासीको गुनासो गरेका छन् । गत २०८२ माघ १३ गतेबाट सञ्चालनमा ल्याइएको स्ट्रीट लाइट पटक–पटक बिग्रिन थालेपछि स्थानीयहरू निराश बनेका हुन् ।

वीरेन्द्रनगरको मङ्गलगढी चोकदेखि लाटीकोइली शिवमन्दिरसम्म सडक बत्ती जडान गरी सञ्चालनमा ल्याइएको स्ट्रीट लाइट कर्णाली प्रदेशकै नमुना र सम्भवत: पहिलो व्यवस्थित स्ट्रीट लाइट योजनाका रूपमा हेरिएको यो परियोजना अहिले भने अव्यवस्थित र बेवास्ताको प्रतीक बन्दै गएको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार बत्ती जडान भएदेखि नै प्राविधिक समस्या देखिएको थियो । सुरुवातमा ठेकेदार कम्पनीका प्राविधिकसँग गरिएको कुराकानीमा उक्त सडक बत्तीका लागि ३ फेज लाइन आवश्यक पर्ने भए पनि पूर्ण रूपमा त्यसको व्यवस्थापन नभएकै कारण बत्ती निभ्ने समस्या दोहोरिएको जानकारी प्राविधिकले हामीलाई दिएका थिए ।

योजनामा प्राविधिक कमजोरीमात्र होइन, तोडफोडको समस्या पनि देखिएको थियो। बीचमा एक स्थानीय युवाले एउटा पोलमा आगजनी गर्दा केही संरचनामा क्षति पुगेको थियो । त्यसपछि हाम्रो लगातारको खबरदारी र दबाबपछि करिब एक महिनामा मर्मत गरिएको थियो । पटक–पटक बत्ती बिग्रिने, आंशिक रूपमा मात्र बल्ने र लामो समयसम्म अन्धकार रहने समस्या अहिले पनि यथावत रहेको स्थानीय बताउँछन् ।

हाल करिब ८ देखि १० दिनयता सडक बत्तीको बीच भागमा मात्र बत्ती बलिरहेका छन् भने क्षेत्र पुनः अन्धकारमा डुबेको छ । यसले रातिको समयमा आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी तथा सवारी चालकलाई समस्या भइरहेको छ । हामीले पटक–पटक सम्बन्धित निकायलाई मर्मतका लागि आग्रह गरे पनि हालसम्म कुनै प्रभावकारी पहल हुन सकेको छैन् ।

यस विषयमा बुझ्न वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृतसँग मोबाइल सम्पर्क गर्न खोजिएको थियो । तर, उहाँले फोन रिसिभ नभएपछि नगरपालिकाको आधिकारिक धारणा प्राप्त हुन सकेन ।

स्थानीयवासीले विकास योजनामा गुणस्तर, नियमित मर्मत र जिम्मेवार निगरानी आवश्यक रहेको बताएका छन् । “देखाउनका लागि मात्रै योजना ल्याउने, केही दिन चम्किने अनि फेरि अन्धकारमा फर्किने प्रवृत्ति अन्त्य हुनुपर्छ,” एक स्थानीयले आक्रोश व्यक्त गर्नुभयो ।