वीरेन्द्रनगर, सुर्खेत — “भोकालाई एक छाक भोजन होइन, जीवन जिउने जुक्ति सिकाऔँ” भन्ने मूल उद्देश्यका साथ हेफर इन्टरनेशनल नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुर्खेत जिल्लास्थित कृषि, बहुउद्देश्यीय, दुग्ध तथा उपभोक्ता सहकारी संस्थाहरूबीच आयोजना गरिएको उक्त कार्यक्रममा सहजीकरण सुर्खेत जिल्ला सहकारी संघ ले गरेको थियो।
कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम अधिकृत प्रदीप शर्मा ले परियोजनाको उद्देश्यबारे प्रकाश पार्दै सुर्खेतसहित देशका विभिन्न जिल्लामा सहकारीहरूसँग सहकार्य गर्दै दीर्घकालीन रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
उहाँले विगतदेखि नै महिलाशक्तिकरणमा विशेष जोड दिँदै महिलाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गरिँदै आएको उल्लेख गर्नुभयो। साथै, निकट भविष्यमा उत्पादनमुखी सहकारीहरूसँग सहकार्य गर्दै जलवायु परिवर्तन र खाद्य सुरक्षाका क्षेत्रमा केन्द्रित भएर कार्यक्रम अगाडि बढाइने योजना रहेको जानकारी दिनुभयो।
त्यसैगरी, कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका एक्सेस टु फाईनान्स कन्सल्टेन्ट कृष्ण राज जोशी ले सहकारीहरूलाई वित्तीय सेवाहरूमा सहजीकरण तथा प्राविधिक सहयोग प्रदान गरिने बताउनुभयो।

कार्यक्रमका सभापति तथा सुर्खेत जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश कुमार तिमिल्सेना ले समग्र सहकारी क्षेत्रको विकासका लागि सहकार्यलाई थप सुदृढ बनाउँदै परियोजनालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा सुर्खेत जिल्लाका विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना संस्थाले कृषि तथा उत्पादन क्षेत्रमा हालसम्म गरेका गतिविधि र आगामी योजनाहरू प्रस्तुत गरेका थिए।
जिल्ला सहकारी संघका व्यवस्थापक ढांकाराम न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा राएसडिसि कोहलपुरका प्रमुख शंकर भटराईले आफुले थोक संस्थाको रुपमा सहकारीहरुलाई सहूलियत दरमा आवश्यकता अनुशारको ऋण उपलब्ध गराउने बताउनु भयो ।



Milan Shrestha । २० बैशाख २०८३, आईतवार १८:५१ बजे