नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखाको आयोजनामा तथा रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा रेसुङ्गा बहुमुखी क्याम्पसमा निःशुल्क रक्त समूह पहिचान, रक्तदान तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १२० भन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खिलध्वज पन्थीले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक तथा मानवीय अभियान भएको बताउनुभयो । उहाँले रगत कुनै उद्योग वा कारखानामा उत्पादन गर्न नसकिने भएकाले स्वस्थ नागरिकहरूले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो ।
नगर प्रमुख पन्थीले भन्नुभयो, “विकास निर्माणका कामहरू महत्वपूर्ण छन्, तर एउटा नागरिकको जीवन बचाउनु त्योभन्दा ठूलो सेवा हो । दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका बिरामीलाई आवश्यक पर्ने रगत समयमै उपलब्ध गराउनु समाजको साझा जिम्मेवारी हो । विशेषगरी युवाहरूले सामाजिक उत्तरदायित्वसँग जोडिएर रक्तदान संस्कार विकास गर्न आवश्यक छ ।”
उहाँले नेपाल स्वयंसेवी रक्तदाता समाजले जिल्लामा रगत अभाव हुन नदिन उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै नगरपालिकाले यस्ता मानवीय अभियानमा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गरी रक्तदानप्रति चेतना फैलाएकोमा आयोजक संस्थाको प्रशंसा गर्नुभयो ।

विशेष अतिथि रेसुङ्गा नगरपालिका १ नं. वडाका वडाअध्यक्ष रामप्रसाद पन्थीले समाजमा रक्तदान संस्कार विस्तार गर्न आवश्यक रहेको बताउँदै युवाहरूलाई नियमित रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले मानवीय सेवासँग सम्बन्धित अभियानमा स्थानीय तहको निरन्तर सहयोग रहने बताउनुभयो ।
रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सूर्यप्रसाद उपाध्यायले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गुल्मी जिल्ला अस्पतालका चिकित्सक डा. सोफिया थापाले रगतको महत्व, सुरक्षित रक्तदान, रक्त समूह पहिचान तथा आकस्मिक अवस्थामा रगतको आवश्यकताबारे जानकारी दिनुभएको थियो । त्यस्तै, गुल्मी जिल्ला अस्पतालकै पेन पल्स कार्यक्रम का HA जय विकले रक्तदानसम्बन्धी सचेतनामूलक धारणा राख्नुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मी जिल्ला शाखाका अध्यक्ष ध्रुव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष पाण्डेले जिल्लामा रगत अभावकै कारण कुनै पनि बिरामीले दुःख पाउन नपरोस् भन्ने उद्देश्यले संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगप्रति विशेष आभार व्यक्त गर्दै चालु आर्थिक वर्षमा डायलासिस गराइरहेका २८ जना बिरामीलाई सहयोग उपलब्ध गराइएको तथा आर्थिक वर्षभरिमा १६० जना बिरामीलाई आवश्यक रगत व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो, “रक्तदान एउटा अभियान मात्र होइन, यो मानव जीवन बचाउने पवित्र जिम्मेवारी हो । रगत अभावमा कसैले दुःख पाउन नपरोस् भनेर हामी निरन्तर सक्रिय छौं । आगामी दिनमा विद्यालय, क्याम्पस तथा समुदायस्तरमा अझ व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने हाम्रो योजना छ ।”
कार्यक्रममा समाजका सचिव वीरबहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहजिकरण रेसुङ्गा बहुमुखी क्याम्पसका सहायक प्रमुख नारायण भुसालले गर्नुभएको थियो ।रक्त समूह परीक्षणमा ल्याब टेक्निसियन राजु मरासिनी र सीता श्रेष्ठ ले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष नमराज मरासिनी, कोषाध्यक्ष विष्णु अधिकारी, कार्यसमिति सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन व्यवस्थापन तथा सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा रेसुङ्गा बहुमुखी क्याम्पस परिवारप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ ।




Prawash Kumar Shakya । २८ बैशाख २०८३, सोमबार १९:१० बजे