जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वयमा, कर्णाली प्रदेश प्रहरी अस्पताल र यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा आज वीरेन्द्रनगर–७ सुर्खेतको खुल्लामञ्चमा सवारीसाधनको यान्त्रिक परीक्षण तथा सवारीचालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमअन्तर्गत उपत्यकामा सञ्चालित निजी तथा सामुदायिक १५ वटा विद्यालयका ३९ वटा सवारीसाधनको यान्त्रिक परीक्षण गरिएको थियो भने चालकहरूको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । परीक्षणका क्रममा देखिएका समस्या तथा सुधारका लागि सम्बन्धित पक्षलाई विभिन्न सुझाव दिइएको बताइएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा ५ जना चालकलाई चश्मा प्रयोग गर्न सुझाव दिइएको छ भने ६ जना चालकलाई उच्च रक्तचाप नियन्त्रणमा राख्ने तरिकाबारे परामर्श प्रदान गरिएको थियो ।त्यसैगरी, ११ वटा सवारीसाधनमा मापदण्डविपरीत थप जडान गरिएका अतिरिक्त बत्ती हटाउन निर्देशन दिइएको थियो । विद्यालय बसहरूमा अनिवार्य रूपमा फर्स्ट एड किट बक्स, फायर एक्स्टिङ्गुइशर तथा डस्टबिन राख्न पनि सुझाव दिइएको थियो ।
हेडलाइट, साइडलाइट, ब्याकलाइट, वाइपर, टायर, स्टेरिङ, ब्रेक तथा धुवाँ परीक्षण गर्दा अधिकांश सवारीसाधनको अवस्था सन्तोषजनक रहेको पाइएको थियो भने नियमित मर्मतसम्भार र निगरानी गर्न सम्बन्धित विद्यालय तथा चालकलाई सचेत गराइएको थियो ।
कार्यक्रममा आधारभूत सुरक्षा उपायहरूबारे जानकारी दिइनुका साथै हरेक ६/६ महिनामा सवारी जाँचपास पत्र अनिवार्य रूपमा बनाइ साथमा राख्न र सवारीसाधनसँग सम्बन्धित सम्पूर्ण कागजात साथमा बोकी हिँड्न आग्रह गरिएको आयोजकले जनाएको छ ।



Prawash Kumar Shakya । २९ बैशाख २०८३, मंगलवार १९:०० बजे