
नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाले आज कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई कर्णाली प्रदेश भरी विरामीलाई निःशुल्क रगत उपलब्ध गराउन ज्ञापन पत्र बुझाएको छ ।
समाजले प्रदेश सरकारको आगामी बजेटमा समेटिने गरि, मानव जीवनको संरक्षण र स्वास्थ्य सेवाको आधारभूत अधिकार सुनिश्चित गर्ने सन्दर्भमा रगत जस्तो जीवनदायी तत्वको सहज र सुलभताका साथै निःशुल्क उपलब्ध हुन अत्यन्त जरुरी अनि अपरिहार्य विषय हो । कर्णाली प्रदेश जस्तो भौगोलिक दृष्टिले विकट तथा स्वास्थ्य सेवाको पहुँच सीमित भएको क्षेत्रमा रगतको अभावका कारण मृत्यु वरणको खबर सिर्जना हुनु दुःखद् यथार्थ हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज,सुर्खेत शाखाले प्रदेश राजधानीमा विगतदेखि नै निःस्वार्थ भावनाले रक्तदान अभियान सञ्चालन गर्दै र समन्वयकारी भूमिका निर्वाह गर्दै सेवा प्रदान गर्दै आएको छ । स्वयंसेवी रक्तदाताहरूको सक्रिय सहभागिताका बाबजुद पनि रगत संकलन,भण्डारण तथा वितरण प्रक्रियामा आर्थिक अभाव,पूर्वाधारको कमी र व्यवस्थापनको कमि कमजोरीका कारण सर्वसाधारण नागरिकले सहजरूपमा रगत प्राप्त गर्न सकिरहेका छैन । विशेष गरी विपन्न तथा दुर्गम क्षेत्रका नागरिकहरू रगतको शुल्क समेत तिर्न नसक्दा थप पीडित बन्न बाध्य छन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा समान पहुँचको अधिकार सुनिश्चित गरेको छ । यसै सन्दर्भमा,कर्णाली प्रदेश सरकारबाट प्रदेशभरका सबै सरकारी तथा मान्यता प्राप्त स्वास्थ्य संस्थाहरूमा आवश्यक रगत तथा रक्ततत्वहरू निःशुल्क रूपमा उपलब्ध गराउने नीति तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौं । ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री भण्डारीले आफूले रक्तदानकालागि केही काम गर्ने अठोट लिइ रहेको समयमा समाजको झक्झक्याइले अझै काम गर्न उर्जा थपिएको बताउनुभयो । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णालीका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यले कर्णाली प्रदेशका दुरदराजमा रहेका नागरिकहरु त्यसैपनि आर्थिक अवस्था कमजोर रहेको र उहाँहरु विरामी पर्दा रगतको जोहो गर्न पनि गाह्रो हुने भएकोले सरकारले आफ्ना नागरिक सहजरुपमा रगत उपलब्ध गरान सचेत गराउनकालागि ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
यस्तै समाजका सुर्खेत शाखा अध्यक्ष अशोक कुमार सिंहले वीरेन्द्रनगर नगरपालिकामा पनि १ बर्ष अगाडी पालिकाका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन माग गरिएता पनि स्थानीय सरकारले त्यता चासो नदिएको बताउनुभयो ।
कार्यक्रममा समाजका सचिव पुनम विसी, सदस्यहरु मालती विके सन्तोष योगी र राजकुमार शाहीको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । ३० बैशाख २०८३, बुधबार १८:२३ बजे