
सुर्खेत, । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते (मे २२–२४, २०२६) सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको यस ऐतिहासिक कार्यक्रमले कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्द्धन र दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास आयोजकले लिएको छ ।
सम्मेलनमा नेपालका विभिन्न क्षेत्रका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीलगायत स्थानबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित ब्लगर, सेलर, ट्राभल एजेन्सी प्रतिनिधि, ट्राभल ब्लगर, ट्रेड प्रोफेसनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।
त्यसैगरी, विभिन्न ट्राभल एजेन्सी, टुर अपरेटर, होटल तथा आतिथ्य व्यवसायीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कर्णाली प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा, साहसिक पर्यटन तथा अनुपम गन्तव्यस्थलले भरिपूर्ण भए पनि अझै पर्याप्त रूपमा विश्वसामु परिचित हुन सकेको छैन । यही सम्भावनालाई उजागर गर्दै पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ ।
सम्मेलनअन्तर्गत B2B बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भ्रमण, एक्स्पो ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक प्रस्तुति सञ्चालन गरिनेछ । यी गतिविधिले पर्यटन क्षेत्रका सरोकारवालाबीच अनुभव आदानप्रदान, व्यावसायिक साझेदारी तथा दीर्घकालीन सहकार्यको वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।
आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले सरकारी निकाय, निजी क्षेत्र, पर्यटन संस्था, स्थानीय उद्यमी तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सक्रिय सहभागिताले कर्णालीलाई नेपालको उदाउँदो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
उहाँले सम्मेलन केवल कर्णाली र भारतका केही राज्यका व्यवसायीहरूको भेटघाटमा सीमित नरही खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष संवादको माध्यम बन्ने बताउनुभयो । कर्णालीका होमस्टेदेखि ठूला होटलसम्म, रारादेखि शे–फोक्सुण्डोसम्मका प्याकेजहरू सिधै बजारसँग जोडिने उहाँको भनाइ छ ।
आयोजकले कर्णाली केवल घुम्ने ठाउँ मात्र नभई अनुभूतिको भूमि भएको उल्लेख गर्दै यहाँको संस्कृति, भाषा, भेषभूषा र हिमालहरूलाई विश्वस्तरमा ‘प्रिमियम गन्तव्य’ का रूपमा चिनाउने लक्ष्य लिएको जनाएको छ ।
सम्मेलन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण संस्था, सहभागी महानुभाव तथा सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्दै आयोजकले पर्यटनमार्फत समृद्ध कर्णाली निर्माण अभियानलाई सफल बनाउन सबैमा साथ र सहयोगको अपिल गरेको छ ।



Prawash Kumar Shakya । ३१ बैशाख २०८३, बिहीबार १४:२६ बजे