बाँकेका शतक रक्तदाता जायसवालद्वारा १०६औं पटक रक्तदान


नेपालगन्ज (बाँके), १२ मंसीर । रगतको नाता नभए पनि मानवताको नाता कति गाढा हुन्छ भन्ने कुरालाई बाँकेका शतक रक्तदाता तथा सञ्चारकर्मी पवन जायसवालले पुनः एकपटक पुष्टि गर्नुभएको छ।

“रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आफ्नो जीवनचर्या बनाउनुभएका जायसवालले आज (शुक्रबार) आफ्नो जीवनको १०६ औं पटक रक्तदान गरी समाजमा एउटा अनुकरणीय उदाहरण पेश गर्नुभएको छ ।

२०४६ साल असोज ४ गते नेपालगन्ज जेसीजद्वारा आयोजित कार्यक्रममा पहिलो पटक रक्तदानको यात्रा शुरु गर्नुभएका जायसवालले आज यात्रा १०६ औं पटकसम्म रक्तदानको यात्रा पूरा गर्नुभएको छ । आफ्ना मामा आमेन्द्र जायसवालबाट प्राप्त हौसलालाई प्रेरणाको स्रोत मान्दै सुरु भएको यो पवित्र यात्रा आज बाँके र बर्दिया जिल्लाकै गौरव बनेको छ ।

बाँके जिल्लाको नेपालगन्ज–१९, सुर्जीगाउँ निवासी मधेशी समुदायको पहिचानसहित मानवसेवामा निरन्तरता दिइरहनुभएको जायसवाल हाल नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँकेको सल्लाहकार पनि हुनुहुन्छ । साथै उहाँ हिमालिनी अनलाइन, दैनिक नेपालगन्ज, जनमत अर्धसाप्ताहिक र नयाँ नेपाल अवधी पृष्ठ लगायतका सञ्चार माध्यमहरूसँग आवद्ध रहँदै कलम र कर्म दुवैमार्फत समाज सेवामा सक्रिय हुनुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्र, नेपालगन्जमा भएको रक्तदान कार्यक्रममा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको विशेष उपस्थिति रहेको थियो । सो अवसरमा महेश रानाक्षेत्री, शान्ति धनाडी र श्रृष्टि चौधरी लगायतको प्राविधिक टोलीले सहजीकरण गरेको थियो ।