वीरेन्द्रनगर नगरपालिकाको “हेल्लो गर्भवती आमा” कार्यक्रम शुभारम्भ


वीरेन्द्रनगर नगरपालिका सुर्खेतले नगरको २ नं. वडाको शहरी स्वास्थ्य केन्द्र दौलतपुरबाट गर्भवती तथा सुत्केरी आमालाई घरबाटै स्वास्थ्य सेवा दिन ‘हेलो गर्भवती आमा’ कार्यक्रमको शुरुवात गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले एक गर्भवती महिलालाई फोन गरेर गर्भावस्थाको बारेमा जानकारी लिँदै कार्यक्रमको शुरुवात गर्नुभएको हो । अब देखि हरेक हप्ता गर्भवती आमाहरुलाई दक्ष स्वास्थ्यकर्मीद्वारा फोन मार्फत आवश्यक सरसल्लाह, सुझाव तथा परामर्श दिने उद्देश्यले ‘हेलो गर्भवती आमा’ कार्यक्रमको शुरुवात गरिएको बताइएको छ ।

यो कार्यक्रम नगरपालिकाले वीरेन्द्रनगरका १६ वटै वडाका स्वास्थ्य केन्द्रमा पनि सुभारम्भ हुनेछ । पालिकाले नगरपालिकामा रहनु भएका गर्भवती आमाहरुलाई सरकारले तोकेको अनिवार्य ४ पटक जाँचमा १ हजार रुपैयाँ र निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरेका थियो । अहिले सरकारले नयाँ प्रोटोकल जारी गरेपछि अधिकांश गर्भवती आमाहरुलाई जानकारी नुहुनु र कतिपय अवस्थामा स्वास्थ्य संस्थामा आउने समय बिर्सेर अनिवार्य जाँचमा छुट्न थालेपछि हामीले यो सेवा शुरुवात गरेका हौं ।’ नगरप्रमुख ढकाल भन्नुहुन्छ ।

नगरपालिकाले हालसम्म १ सय ७८ महिला र ८ सय ५० जना अतिविपन्न नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरेको छ । त्यस्तै सेवा निवृत्त भएका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप ५० हजार रुपैया दिन सुरु गरिएको छ भने २ सय ८ जना विपन्न दीर्घरोगीलाई १ लाख बराबरको उपचारमा सहयोग समेत गरेको छ ।