स्क्रवटाइफसको परीक्षण नहुँदा अन्धाधुन्द उपचार


जनस्वास्थ्य कार्यालयले गम्भीरता नदेखाएको चिकित्सकको गुनासो

५ भदौ, चितवन । जिल्ला जनस्वास्थ्य कार्यालयले समयमै समन्वय नगर्दा स्क्रवटाइफसका विरामीहरुको उपचारमा समस्या परेको चितवनका चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले स्क्रवटाइफसको रोकथाम र उपचारमा गम्भीरतापूर्वक कदम नचालेमा जटिल समस्या निम्तने चेतावनी दिएका छन् ।

‘बारम्वार जनस्वास्थ्य कार्यालयलाई जानकारी गराएपनि खासै चनाखो बनेको देखिएन,’ चितवनका एक चिकित्सकले भने, ‘अवस्था यस्तै हो भने स्थिति भयावह हुन्छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालयको साउन ३० गतेसम्मको तथ्यांकमा चितवनमा हालसम्म ९१ जनमा स्क्रवटाइफसको संक्रमण देखिएको छ । तर, चितवन मेडिकल कलेजको तथ्यांकमा भने सोही अवधिमा १ सय ४ जना स्क्रवटाइफसका विरामी भेटिएका छन् । हालसम्म स्क्रवटाइफसकै कारण चितवनमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । तर, स्पष्ट जाँच हुन नसक्दा शंकास्पद मृत्युको संख्या पनि बढ्दो छ ।

विडम्बनाको कुरा त के छ भने चितवनका सरकारी अस्पतालमा स्क्रवटाइफसका विरामीको उपचार हुँदैन ।

हाल चितवन मेडिकल कलेजमामात्रै स्क्रवटाइफसको परीक्षण भइरहेको छ । सर्वसाधारण सस्तो उपचार हुने सरकारी अस्पताल खोज्दै आए पनि परीक्षण नहुँदा चिकित्सकहरुले अन्धाधुन्द औषधि चलाउने गरेका छन् ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा. विजय पौडेलले भने, ‘किट अभावमा सरकारी अस्पतालमा स्क्रवटाइफसको परीक्षण गर्न पाएका छैनौं ।’

उनले बारम्बार जनस्वास्थ्य कार्यालयलाई किट मगाउनका लागि ताकेता गरेपनि वास्ता नगरेको गुनासो गरे ।

त्यसैगरी चितवन मेडिकल कलेजका चिकित्सक डा. दयाराम लम्सालले पनि जनस्वास्थ्य कार्यालयले स्क्रवटाइफसको विषयलाई संवेदनशील हिसावले नलिएको आरोप लगाए । पहिलोपटक असार ३१ गते नै लिखितरुपमा जनस्वास्थ्यलाई जानकारी गराए पनि धेरैपछि मात्रै सो कार्यालयवाट चासो दिएर रिपोर्ट माग गरिएको उनले जानकारी दिए ।

जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाले आफूहरुले बारम्वार विभाग र मन्त्रालयमा जानकारी गराएको तर, नआएको बताए । उनले भने, ‘अहिलेसम्म आएको छैन, अब एक हप्ताभित्रै किट आइपुग्छ होला ।’

हाल चितवनका प्रत्येक अस्पताल ज्वरोका विरामीले भरिएका छन् । चिकित्सकहरुले चौपाया र मुसाबाट सर्ने स्क्रवटाइफस नयाँ रोग नभए पनि समय-समयमा देखा पर्ने बताएका छन् । घाँस, मल वा त्यस्तै झारपातमा खेल्ने व्यक्तिहरुमा संक्रमण देखिने भएकाले गाईवस्तु पाल्दा वा घाँसपात गर्दा शरीर छोपिने लामो कपडा लगाएर काम गर्न चिकित्सकहरुले सुझाएका छन् । हाल पूर्वी नेपाल, मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा स्क्रवटाइफसको संक्रमण देखिएको छ । यो क्रम असोज महिनासम्म रहनसक्ने अनुमान चिकित्सकहरुले गरेका छन् ।

साभारः अनलाइन खबर