
१० पौष, काठमाडौं । नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रचित रक्तदान जागरण गीतहरूको संगालो आज काठमाडौंमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । प्रेमपूर्ण सानुमैयाँ असहाय सेवा कोषको सहयोग तथा इभेन्ट सोलुसनको व्यवस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगर समितिको आयोजनामा उक्त लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बौद्ध भिक्षु कौडिन्य महाअवहस्तवीरले १८ वर्षमा प्रवेश गर्नुभएकी निर्जला दुलाललाई रक्त संकलन थैली हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले बुद्धका शिक्षामा त्याग र दानको महत्व उल्लेख गर्दै भन्नुभयो, “दान भन्नासाथ सम्पत्ति मात्र होइन, कसैलाई केही नभनी आफूसँग भएको रगत दान गरेर जीवनदान गर्नु सबैभन्दा महान त्याग हो ।”

रक्तदान जागरण गीतहरूको संगीत संयोजन वरिष्ठ संगीतकार मनराज नकर्मीले गर्नुभएको हो । करिब ४० वर्षदेखि संगीत क्षेत्रमा निरन्तर समर्पित रहनुभएका नकर्मीले रक्तदान जस्तो पवित्र र मानवीय कार्यका लागि संगीत दिन पाउनु आफ्नो जीवनकै अहोभाग्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रक्तदान जस्तो पुण्यकार्यका शब्दमा संगीत भर्ने अवसर दिनुभएकोमा नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यप्रति तथा यस अभियानमा संलग्न सम्पूर्ण गायक–गायिका र सहयोगीहरूप्रति म हृदयदेखि नै आभारी छु।”
यस्तै गीतहरुका रचनाकार एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गीतसंगितमा रचनाकार संगीतकार सँधै ओझेलमा परिरहेको बताउँदै उहाँले रचनाकार भनेको संगितको मुल आधारको भाव झल्काउने पात्र भएको उल्लेख गर्नुभयो । कर्माचार्यले नेपालमा पहिलो पटक रक्तदान जागरण गीत “रक्तदान गरि गरौं जीवनदान….” ल्याउनुभएको थियो जस्मा वरिष्ठ संगितकार रामेशले संगित भर्नुभएको थियो ।
कार्यक्रममा रचनाकार कर्माचार्य तथा वरिष्ठ संगीतकार मनराज नकर्मी लगायत रक्तदान जागरण गीतमा योगदान पुर्याएका कलाकारहरूलाई प्रमुख अतिथि भिक्षु कौडिन्य महाअवहस्तवीरद्वारा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण डा. घनश्याम खतिवडाले गर्नुभएको थियो ।




Prawash Kumar Shakya । १० पुष २०८२, बिहीबार २१:२९ बजे