२०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसमा रक्तदानको क्षेत्रमा काम गर्ने दुई संस्था गाभिए


“म रक्तदान गर्छु” भन्ने मूल प्रतिवद्धताका साथ २०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस आज संघीय राजधानी काठमाण्डौंमा नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदाता जागरण गीत लोकार्पण तथा रक्तदाताहरुलाई सम्मान गरेर मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि त्रिविवि बौद्ध अध्ययन विभागका प्रध्यापक भिक्षु आनन्दले एक थोपा रगतकालागि हामी भरमग्दुर प्रयास गरिरहेका हुन्छौ एक थोपा रगतको महत्व जीवन र मृत्यु सँग संघर्ष गरिरहेका मानिसबाट प्रष्ट हुन्छ तर यही विश्वमा आज अर्को तर्फ लाखौं मानिसहरुको रगतको खोला बगिरहेको छ यही नै विडम्वना हो । उहाँले भन्नुभयो “एकातीर हामी मानिस बचाउनकालागि रातदिन नभनी रगत पाउनकालागि लागि रहेका हुन्छ भने अर्को शक्तिशाली भनिने राष्ट्रहरु रगतको खोला बगाउन तत्पर रहेका छन् ।”

यसै दिवसका अवसरमा रगत र रक्तदानका क्षेत्रमा काम गर्दै आइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाज र रक्त विन्दू नेपाल एक आपसमा गाभिएका छन् ।

“रगतको अभावमा कसैले पनि मृत्युको शैय्या अँगाल्न नपरो भनी रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धतामा अहम् भूभिका निर्वाह गर्दै आईरहेको नेपाल स्वयंसेवी रक्तदाता समाज र एउटै मर्म, उद्देश्य र लक्ष्य लिई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धमा सहजिकरको भूमिका खेल्दै आईरहेको रक्त बिन्दू नेपाल विधिवत रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाज विधाननुरूप आगामी दिनमा सेवा सञ्चालन हुनेगरी नेपाल स्वयंसेवी रक्तदाता समाजमा आबद्ध भएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र रक्त बिन्दु नेपालका केन्द्रीय अध्यक्ष सुमन खरेलले सहकार्यलाई औपचारिकता प्रदान संयुक्त विज्ञप्ती मार्फत एकभएको जनाइएको छ ।

संस्थागत सुदृढीकरण, सेवामा प्रभावकारिता अभिवृद्धि, स्रोत साधनको सदुपयोग तथा दीर्घकालीन सहकार्यलाई अझ सशक्त र व्यवस्थित बनाउने उद्देश्यले रक्त बिन्दु नेपाल (Blood Point Nepal) ले नेपाल स्वयंसेवी रक्तदाता समाज (Nepal Voluntary Blood Donors’ Society) को विधानअनुसार आगामी दिनमा आफ्ना सम्पूर्ण गतिविधि,कार्यक्रम तथा सेवाहरू सञ्चालन हुने गरी सोही समाजमा विधिवत,औपचारिक र संस्थागत रूपमा आबद्ध भएको सर्वसाधारण,सम्बन्धित निकाय तथा सरोकारवालाहरू समक्ष जानकारी गराउँदछौ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तीमा आजको यस ऐतिहासिक दिनदेखि दुवै संस्थाबीच आपसी समझदारी,सहकार्य र समन्वय अझ प्रगाढ भई स्वैच्छिक रक्तदान अभियानलाई स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म थप विस्तार गरिने, रक्त व्यवस्थापन प्रणालीलाई पारदर्शी, उत्तरदायी र दिगो बनाइने तथा आपत्कालीन अवस्थामा रगत तथा रक्त–तत्वहरूको सहज, समयमै र सुरक्षित आपूर्ति सुनिश्चित गर्न थप प्रभावकारी भूमिका निर्वाह हुने विश्वास लिइएको छौं । यस विषयमा सर्वसाधारण, स्वैच्छिक रक्तदाता, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था, सञ्चार माध्यम तथा सम्बन्धित सबै पक्षको जानकारी र सहयोगका लागि यो संयुक्त विज्ञप्ती आज मिति २०८२ साल माघ १५ गते ९ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसका दिन तयार पारि जारी गरेका छौं । उल्लेख गरिएको छ ।