दृष्टिविहीन खेलाडीको कीर्तिमान


diristhibihin-kheladi-589d0fcdcb1184.52904091बेङ्लोरः नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् ।
जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् ।

बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन् । नेपालका लागि भने शतक र दोहोरो शतक प्रहार गर्ने उनी नै पहिलो क्रिकेटर हुन् ।

यसअघि सन् २०१२ मा भएको पहिलो विश्वकप क्रिकेटमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध दुई सय ६४ रन प्रहार गरेका थिए । त्यसयता अन्य कुनै पनि देशका खेलाडीले दोहोरो शतक प्रहार गर्न सकेका थिएनन् । टेस्ट मान्यता पाएका १० मध्ये नौ राष्ट्र (जिम्बाबेबाहेक) का दृष्टिविहीन टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा नेपाली खेलाडीले दोहोरो शतक प्रहार गर्नु महत्ववपूर्ण उपलब्धि हो । सन् २०१२ देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो ।

न्युजिल्यान्डविरुद्धको खेलमा पदम र नेपालका अन्य केही कीर्तिमानसमेत कायम भएका छन् । पदमले शुक्रबार न्युजिल्यान्डविरुद्ध मात्र ९० बलको सामना गर्दै ३६ चौका प्रहार गरे जुन अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो ।

पदमले ऐतिहासिक प्रदर्शनमा खुसी लागेको बताए । ‘दोहोरो शतक प्रहार गर्छु भनेर त सोचेको थिइनँ । टिमलाई जिताउँछु भनेर गएको थिएँ’, २१ वर्षीय पदमले भने, ‘दोहोरो शतक प्रहार गर्न सकेकोमा खुसी लागेको छ । आगामी प्रतियोगितामा पनि यस्तो प्रदर्शन जारी नै राख्नेछु ।’ कैलालीका अलराउन्डर पदम पछिल्लो पाँच वर्षयता दृष्टिविहीन क्रिकेट खेल्दै आइरहेका छन् ।

पदमको कीर्तिमानी प्रदर्शनसँगै नेपालले न्युजिल्यान्डलाई एक सय ११ रनको ठूलो अन्तरले पराजित गर्न सफल भयो । यो जित पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको (रनका आधारमा) अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तरको जित हो ।

नेपाली क्रिकेटर पदम बडैला बने दोस्रो टीट्वेन्टी विश्वकपमा दोहोरो शतक प्रहार गर्नेे पहिलो खेलाडी ।

बेङ्लोरको अलुरस्थित कर्नाटक राज्य क्रिकेट संघको मैदान एकमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले बिनाकुनै क्षति तीन सय तीन रनको योगफल बनाएको थियो । तर समयभित्र आफ्नो इनिङ नसकेको न्युजिल्यान्डले थप १२ रनको पेनाल्टी पाएपछि नेपालको योगफल तीन सय १५ रन पुगेको थियो ।

जबाफमा आएको न्युजिल्यान्डलाई १९.१ ओभरमा एक सय ७४ रनमै समेट्दै नेपालले महत्ववपूर्ण जित हातपारेको हो । नेपालले न्युजिल्यान्डविरुद्ध आफ्नो कीर्तिमानी साझेदारीसमेत गरेको थियो । पदमको दोहोरो शतकका बाबजुद अर्का सुरुआती ब्याट्सम्यान शोभराम डाँगीले पनि ३९ बलमा अविजित ५३ रनको अर्धशतकीय पालि खेल्दै नेपालको अहिलेसम्मकै उच्च रनको साझेदारीका लागि मद्दत पुर्‍याए ।

न्युजिल्यान्डका लागि भने सुरुआती ब्याट्सम्यान बीडी विल्सनले ४५ बलमा ७२ रनको योगदान गरे पनि जित सम्भव भएन । उनले आठ चौका प्रहार गरेका थिए । विल्सनबाहेकका ब्याट्सम्यानले भने न्युजिल्यान्डलाई ठूलो योगदान गर्न सकेनन् । अर्का सुरुवाती ब्याट्सम्यान एमएलके म्याकास्कीलले २० रन जोड्दा डिकोन डुन १२ रन तथा जीसी विलियम्सन १० रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका सुनिल सुवेदी क्षेत्रीले दुई तथा विक्रमबहादुर राना, कप्तान कीर्तन श्रेष्ठ दुवाल र बद्री चापागाईंले एकएक विकेट लिए । नेपालका रमेशबहादुर बानियाँले न्युजिल्यान्डका तीन ब्याट्सम्यानलाई रन आउट गराएका थिए ।

न्युजिल्यान्डलाई पराजित गरेसँगै नेपालले १० टोली सम्मिलित प्रतियोगिताको आठौं स्थानमा स्थान सुरक्षित गरेको छ । नेपालले न्युजिल्यान्डसँगै दक्षिणअफ्रिकालाई पनि पराजित गरेको थियो । दक्षिणअफ्रिका नवौं तथा न्युजिल्यान्ड १० औं स्थानमा रह्यो । नेपालभन्दा माथि दक्षिणएसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशसहित अस्ट्रेलिया, इङ्ल्यान्ड र वेस्ट इन्डिज रहे । नेपालले प्रतियोगितामा यी टोलीसँग भने पराजय बेहोरेको थियो ।

खेलपछि नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले आफ्ना खेलाडीले क्षमताअनुसारको प्रदर्शन गर्दा ऐतिहासिक प्रदर्शन सम्भव भएको प्रतिक्रिया दिए । ‘मैले पहिलेदेखि नै भन्दै आएको हुँ, नेपाली खेलाडी क्षमतावान् छन् । उीनहरुले पहिलोपटक आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्दा ऐतिहासिक प्रदर्शन सम्भव भयो’, प्रशिक्षक प्रजुले भने, ‘यस्तै खेल यसअघि पनि गरेको भए हामीले अन्य देशलाई पनि जित्न सक्थ्यौं । ऐतिहासिक प्रदर्शन गरेकोमा पदमलाई बधाई दिन चाहन्छु ।’

साभारः अन्नपूर्णपोष्टअनलाइन