१८ पुस । सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशी पुरस्कार रहेको वतृत्वकलात्मक कार्यक्रम ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ हुने भएको छ । प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि) वीरेन्द्रनगरले गर्ने नियमित कार्यक्रम ‘सुर्खेत गट् ट्यालेन्ट’ अन्तर्गत ‘प्रोफेशनल स्पिच कम्पिटिशन’ हुने भएको हो ।
आज वीरेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा पिएसडिका प्रवन्ध निर्देशक एवम् कम्पिटिशनका संयोजक प्रेमकुमार विसीले सुर्खेत जिल्लाका सवै माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको बताउनुभयो । सफलताका लागि वतृत्वकला नै सवैभन्दा ठूलो कुरा भएकाले भोलीका भविश्य विद्यार्थीलाई वतृत्वकलामा प्रखर बनाउन र सफल बनाउन कम्पिटिशन गर्न लागिएको उहाँले बताउनुभयो । प्रतिस्पर्धा अडिसन, सेकेन्ड, एलिमेशन, टप् फाइभ र फाइनल गरी पाँच चरणमा सञ्चालन गरिनेछ ।
त्यसका लागि अडिसन र सेकेण्ड राउण्ड जिल्लाभर तीन ठाउँमा हुने पिएसडिले जनाएको छ । प्रतिस्पर्धाका लागि सिम्ता, गुर्भाकोट, भेरीगंगा र लेकवेशी समेटेर पूर्वी इलाका, वीरेन्द्रनगर र चिङ्गाड समेटेर मध्य इलाका तथा वराहताल, पञ्चपुरी र चौकुने समेटेर पश्चिम इलाकामा विभाजन गरिएको छ । जसअन्तर्गत अडिसन राउण्डमा पूर्वी इलाकाका विद्यार्थीले मेहेलकुनामा, मध्य इलाकाका विद्यार्थीले वीरेन्द्रनगरमा तथा पश्चिम इलाकाका विद्यार्थीले बावियाचौरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै सेकेण्ड राउण्डको प्रतिस्पर्धा पूर्वी इलाकाको छिन्चु, मध्य इलाकाको वीरेन्द्रनगर र पश्चिम इलाकाको बड्डीचौरमा गरिने पिएसडिले जनाएको छ ।
पहिलो अडिसनबाट २४ जना छनौट गरी सेकेण्ड राउण्डमा पुग्ने र सेकेण्ड राउण्डबाट १२ जना एलिमिनेशनमा छानिने संयोजक विसीले बताउनुभयो । उहाँकाअनुसार एलिमिनेशनमा प्रतिस्पर्धा गरिसकेपछि टप् फाइभमा पर्नेछन् भने टप् फाइभमा एसएमएस भोटिङ्ग खुला गरिनेछ । फाइनलमा एसएमएसको २५ प्रतिसत र निर्णयकको ७५ प्रतिसत निर्णयको मान्यता दिइने निर्णायक मण्डल संयोजक भानुभक्त खड्काले बताउनुभएको छ । इच्छुक विद्यालयबाट दुई जना अनिवार्य छात्रासहित पाँच जना विद्यार्थीको विवरण विद्यालयको आधिकारिक लेटर प्याडमा लेखि केही शर्तसहित सहभागि गराउन सकिनेछ ।
आयोजकका अनुसार प्रतिस्पर्धाबाट पहिलो हुने विजेताले एक लाख रुपैयाँ, फर्स्ट रनरअफले ५० हजार, सेकेण्ड रनरअफले २५ हजार, स्मार्ट पर्फमरले १० हजार र स्मार्ट भोइस उपाधि प्राप्त गर्नेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।



Prawash Kumar Shakya । १८ पुष २०७४, मंगलवार १५:०४ बजे