
३० फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आज वीरेन्द्रनगरको घण्टाघरलाईन, हङकङ्ग बजार र गोदामलाइनको सार्वजनिक जग्गामा बनेका संरचनाहरुमा डोजर चलाएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि नगरपालिकाले आज (बुधवार) डोजर चलाएको हो । वीरेन्द्रनगर–६ को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो । विहान करिब सवा ११ बजे तिर नगरपालिकाले डोजर चलाएपनि व्यासायीहरुले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट डोजरको सिसा फुटेको छ भने केही नगरपालिकाका कर्मचारी घाईते भएका छन् । यति घटना हुँदापनि प्रहरी भने माथिबाट आदेश नआएको भन्दै मुकदर्शक बनेर हेरिरहेको थियो ।
नगरपालिकाले सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएको अस्थायी संरचनाहरुमा खाली गराई पार्किङ्ग स्थलको रुपमा विकास गर्ने नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।
नगरपालिकाको शहरी गुरुयोजना तयार गरी वीरेन्द्रनगरलाई व्यवस्थित हरित शहर निर्माणकालागि समितिको मातहतमा रहेका जग्गाहरू खाली गराउने प्रतिवद्धता मेयर ढकालले गर्दै आउनुभएको थियो । सोही प्रतिवद्धता अनुरुप आज व्यावसायीहरुले अटेर गरेपनि डोजर चलाइएको हो ।



Prawash Kumar Shakya । ३० फाल्गुन २०८०, बुधबार १८:४० बजे