

१७ साउन, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाकाे संयूक्त आयाेजनामा “नवौं बृहत् एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रम” भुरीगाउँ ठाकुरबाबा नगरपालिकामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालका सतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष रक्तसम्राट प्रेमसागर कर्माचार्यले १ सय ७५ औं पटक रक्तदान गर्नुभयो भने कर्णालीका सर्वाधिक स्वयंसेवी रक्तदाता समाजका सुर्खेत अध्यक्ष एवं केन्द्रिय सदस्य प्रवाशकुमार शाक्यले ७९ औं पटक र समाजका बर्दिया जिल्लाका अध्यक्ष एवं केन्द्रिय सदस्य प्रेम लम्सालले ६५ औं पटक रक्तदान गर्नुभएको थियो ।
कार्यक्रमका सभापति एवं ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले सतक रक्तदाताको उपस्थितिमा जिल्ला कै बृहत महिला विषेश रक्तदान कार्यक्रमको आयोजना गर्न पाएकोमा गर्वको महसुस गरेको बताउनुभयो । नगर उपप्रमुख विनाकुमारी भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा ४४ जना महिलाहरु सहित २ सय ७ जनाले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बाँकेले गरेको थियो ।
Prawash Kumar Shakya । १७ श्रावण २०८०, बुधबार २०:०२ बजे