कर्णालीमा Ather को विद्युतीय मोबिलिटी विस्तार, सुर्खेतमा खुल्यो १६औँ Experience Center


सुर्खेत, असोज ५ । विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै गइरहेका बेला Ather Nepal ले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ Experience Center सञ्चालनमा ल्याएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले रिवन काटेर शो रुमको उद्घाटन गर्नुभएको कार्यक्रममा Ather का Brand Development Manager सलमान खानले स्वागत मन्तव्य राख्दै उहाँले Ather Nepal ले नेपालमा विद्युतीय मोबिलिटीको पहुँच विस्तार गर्ने उद्देश्यअनुसार विभिन्न शहरमा Experience Center विस्तार गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा NADA का उपाध्यक्ष तथा कर्णाली अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष भद्र भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका नि. अध्यक्ष लक्ष्मण कँडेल, संघका पूर्व वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत लगायत उद्योगी, व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, ग्राहक, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

सुर्खेतमा Ather को नयाँ केन्द्र सञ्चालनमा आएसँगै कर्णालीका ग्राहकले विद्युतीय स्कुटरको प्रत्यक्ष अनुभव, खरिद तथा आवश्यक सेवासम्बन्धी सुविधा स्थानीयस्तरमै प्राप्त गर्न सक्ने स्वर्णिम बिजनेस कन्सर्नका अध्यक्ष सोमराज थापाले बताउनुभयो । कार्यक्रमको सञ्चालन सैयद अन्वर अलीले गर्नुभएको थियो।

Ather का नयाँ पुस्ताका विद्युतीय स्कुटर तथा प्रविधिबारे ग्राहकलाई प्रत्यक्ष जानकारी र अनुभव उपलब्ध गराउने उद्देश्यले Experience Center सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।