
९ असोज, दैलेख . कर्णाली प्रदेशको ऐतिहासिक पहाडी जिल्ला दैलेखमा पनि रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ । आवश्यकता परेको बेला विरामीलाई रगत दिन सकिने प्रवन्ध सहित नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले रक्त सञ्चार केन्द्र स्थापना गरि सञ्चालन ल्याएको हो ।
उपकरण सहितको व्यवस्थापनपछि स्थापना गरिएको रक्त सञ्चार केन्द्र आज उद्घाटन गरिएको छ ।
दैलेख अस्पतालको परिसरमा स्थापना गरिएको रक्त सञ्चार केन्द्रको जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही, नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । रक्त सञ्चार केन्द्र सञ्चालन समितिका संयोजक यामराज कटुवालाको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय प्रमुख शाही र मेयर शर्माले आवश्यक सहयोग गर्न तयार रहेको बचन दिनुभयो । प्रमुख जिल्ला अधिकारी जैसीले विपदको बेला समेत अभाव नहुने गरी पर्याप्त रगत जोहो गर्न आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रप्रताप सुबेदी, दैलेख अस्पतालका डा. सुदीप खड्का, नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष अमर सुनार लगायतले रक्त सञ्चार केन्द्र महत्व बारे प्रकाश पार्नुभएको थियो ।
संकलित रगत भण्डारण गरी आवश्यकता अनुसार विरामी चढाउन सकिने गरी प्रवन्ध भएको दैलेख अस्पतालका ल्याब टेक्निसियन टकबहादुर भण्डारीले बताउनुभयो । यस अघि विरामीहरुलाई रगत दिनुपर्ने अवस्थामा रक्तदाताबाट झिकेर रगत दिनुपर्नेलाई तत्कालै चढाउने गरिंदै आएको थियो ।
रक्त सञ्चार केन्द्र स्थापना गरिएको अवसरमा नेपाली सेनाको कालिदत्त गुल्मका इञ्चार्ज सेनानी सुमन कार्की र नारायण नगरपालिका–८ का वडाध्यक्ष गोपाल बीसीले रक्तदान गर्नुभयो । २१ वर्ष अघि २०६० पुस १७ गतेदेखि सुरु भएको आपत्कालिन रक्त सञ्चार गराउँदा पहिलो रक्तदान पत्रकार अमर सुनारले गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले नै २१ वर्ष अघि आपत्कालिन रक्त सञ्चार केन्द्र सञ्चालन गरिएकोमा विरामीले छिटो रगत पाउन सक्ने गरी संकलित रगत भण्डारण गरी सेवालाई प्रभावकारी बनाउन रक्त सञ्चार केन्द्र सुचारु गरिएको नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति निरञ्जन खत्रीले जानकारी दिनुभयो ।
रक्त सञ्चार केन्द्र सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका उपसभापति यामबहादुर कटुवालको संयोजकत्वमा १३ सदस्यीय रक्त सञ्चार केन्द्र समिति गठन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयका डा. सुदीप खड्का, दिपक कार्की, टकबहादुर भण्डारी, रञ्जीता गिरी खड्का, नैना गुरुङ्ग, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालालाई सदस्यमा मनोनीत गरिएको छ भने नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला अध्यक्ष अमर सुनार, जेसिज जिल्ला अध्यक्ष प्रकाश बुढा, लायन्स क्लवका खमबहादुर थापा, नारायण नगरपालिका–८ का वडाध्यक्ष गोपाल बीसी, नेपाल रेडक्रसकर्मीहरु दिपक केसी, सुनिलकुमार शर्मा समेतलाई नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले सदस्य चयन गरेको छ ।
Prawash Kumar Shakya । ९ कार्तिक २०८१, शुक्रबार १६:०८ बजे