मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त


१९ जेठ, सुर्खेत । कोभिड–१९ को महामारीका विचमा ठुलो मानवीय क्षति हुनेगरी गएराती छिमेकी ५ नं. प्रदेश अन्तरगत वाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मा भएको सडक दुर्घटनाप्रति कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यूले गहिरो दुख व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ ले निम्त्याएको समस्याका कारण भारतवाट उद्धार गरी घर फर्काउने क्रममा हुनगएको सडक दुर्घटनामा परि १२ जनाको दुखद निधन र २१ जना गम्भीर घाईते भएको घटनाले दुखित तुल्याएको बताउँदै मुख्यमन्त्रीले उक्त दुर्घटनामा निधन हुनुभएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका आफन्तजनहरुप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

अकल्पनीय र पिडादायी दुर्घटनाका कारण निधन तथा घाईते हुनुभएका अधिकाँश नागरिकहरु कर्णाली प्रदेशवासी रहेको र यसवाट सम्वन्धित घरपरिवारमा पर्नगएको दुखप्रति मुख्यमन्त्री शालेले गहिरो सहानुभुति प्रकट गर्नुभएको छ । साथै दुर्घटनामा परि घाईते हुनुभएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले दुर्घटनामा घाईते हुनेहरुको भरपर्दो उपचार एवं मृतकहरुको शव घर सम्म पुर्याउने व्यवस्था मिलाउन पहल गरिएको भन्दै उपचारका लागि कुनै कमी हुन नदिईने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

दुर्घटनाको खवर पाउने वित्तिकै उद्धार, उपचार तथा सुचना संप्रेशनमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संचारकर्मी, स्थानीय जनता तथा सरकारी अधिकारीहरुलाई मुख्यमन्त्री शाहीले धन्यवाद दिनुभएको छ ।