आईसीसीले अनुमति नदिए नेपाली क्रिकेटरले एसियन प्रिमियर लिग नखेल्ने


२९ जेठ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अनुमति नदिएसम्म नेपाली क्रिकेटरहरुले एसियन प्रिमियर लिग (एपीएल) क्रिकेट नखेल्ने भएका छन् ।

एक निजी कम्पनीले आगामी असार ५ देखि काठमाडौंमा एपीएल गर्ने घोषणा गरेको छ । तर, विवादित बन्दै गएको छ । प्रतियोगितामा सहभागी टिम ‘नेपाल स्ट्रोम’ राखिएको छ तर, कप्तान यूएईका स्वप्निल पाटिल तोकिएको छ ।

नेपाली खेलाडीहरु को को खेल्ने भन्ने समेत आयोजक अल्टिमेट स्पोट्स म्यानेजमेन्टले बताएको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले आईसीसीको अनुमति नदिए नेपाली क्रिकेटरहरुले नखेल्ने बताए । प्रतियोगिताबारे आफूलाई कुनै जानकारी नभएको भन्दै टमाटाले अनलाइनखबरसँग भने, ‘आईसीसीले खेलाडी रिलिज अनुमति दिएन भने हाम्रो सिनियर प्लेयरहरु खेल्दैनन् ।’

साथै नेपालीको यू-१९ टोलीका सदस्यहरुले यो लिग खेल्ने सम्भावना न्यून छ । उनीहरु अहिले यू-१९ विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छन् ।

एसियन पि्रमियर लिगको कन्सेप्ट राम्रो भएपनि कानुनी प्रक्रिया पुरा भए नभएको महत्वपूर्ण हुने उनले बताए । यदि कानुनी प्रक्रिया पुरा नगरी हुने एसियन पि्रमियर लिगमा खेलाडीहरुमाथि प्रतिवन्धसम्म लाग्न सक्ने खतरा हुनेछ ।

भारतमा यस्तै भएको थियो । २००७ देखि ०९ सम्म जीटीभीले इण्डियन क्रिकेट लिग गरेको थियो ।

तर, भारतीय क्रिकेट बोर्ड र अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको सहमति थिएन । त्यही कारण आईसीएल खेल्ने खेलाडीहरुमाथि प्रतिवन्ध नै लागेको थियो ।

अहिले नेपाल प्रशिक्षक टमाटाले आईसीसीको अनुमति नभए खेलाडीहरु रिलिज नगर्ने अडान लिनुको एउटा कारण यही हो ।

विगतमा निजी कम्पनीले एनपीएल गरेका कारण सुरु भएको विवादले नेपाल क्रिकेट एशोसिएन अहिले आईसीसीको निलम्बनमा छ । फेरि एसियन पि्रमियर लिगको विवादमा पर्दा अर्को समस्या आउने त होइन भन्ने धेरैको आशंका छ ।

साभारः अनलाइनखबर