कास्कीको हेम्जामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ३५० जनाले लिए विशेषज्ञ सेवा


कास्की । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखा तथा रोटरी क्लब अफ पोखरा भ्यालीको संयुक्त आयोजनामा कास्कीको हेम्जा स्थित श्री अम्विका माध्यमिक विद्यालयको प्रांगणमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पश्चिमाञ्चल डायग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि.को सहयोगमा सम्पन्न  भएको हो ।

स्वास्थ्य शिविरमा करिब ३ सय ५० जना बिरामीले विभिन्न विशेषज्ञ सेवा लिएका छन् । शिविरमा बिरामीहरूका लागि निःशुल्क CBC, फास्टिङ ब्लड सुगर, युरिन रुटिन परीक्षण, ट्राइग्लिसराइड (TG), ECG, भिडियो एक्स–रे, विशेषज्ञ चिकित्सक परामर्श तथा आवश्यक औषधीसमेत उपलब्ध गराइएको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा एसोसिएट प्रोफेसर तथा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. अमृत केसी, प्रमुख युरोलोजिस्ट तथा युरो सर्जन डा. गणेशभक्त आचार्य, रेडियोलोजिस्ट डा. रोशन पंगेनी, स्त्रीरोग विशेषज्ञ डा. कालिका भण्डारी, अर्थोपेडिक विशेषज्ञ डा. प्रदीप काफ्ले, मेडिकल अफिसर डा. प्रदीप पौडेल, डा. विशाल तिमिल्सेना, डा. अर्जुन न्यौपानेका साथै फर्मासिष्ट सुन्दर श्रेष्ठ, बलराम तिमिल्सिना, सफल न्यौपाने, प्रसुन अधिकारी, सन्तोष चापागाई, जीवन गौतम तथा नर्स अस्मिता भण्डारीले शिविरलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

साथै आयोजकले विद्यालय व्यवस्थापन समितिका सदस्य झलक राना र विद्यालय शिक्षक अभिबावक संघका अध्यक्ष बोधराज अधिकारी लाई एक थान ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन, एक थान तौल नाप्ने डिजिटल मेसिन, विद्यालयलाई आवश्यक औषधी तथा प्राथमिक सामाग्री हस्तान्त्रण समेत गरिएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा भ्यालीका प्रेसिडेन्ट इलेक्ट नविन बरालले सहभागीहरूको स्वागत गर्नुभएको थियो भने क्लबका संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । शिविर नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारीको सभापतित्व तथा पोखरा महानगरपालिका वडा नं. २५ का कार्यबाहक अध्यक्ष शुभाष भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको संयोजन महादेव अधिकारी तथा सहजीकरण संस्थाका सचिव विशाल अर्यालले गर्नुभएको थियो ।