क्रिकेट संघको विधान हुबहु पास, निलम्बन फुकुवाको सम्भावना बढ्यो


६ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले विधानको तेस्रो संशोधन प्रस्ताव हुबहु पास गरेको छ ।

यससँगै अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) ले नेपालको निलम्बन फुकुवाको सम्भावना बढेको छ ।

सल्लाहकार समूहमा भएको सहमतिअनुसार कानुनी सल्लाहकारले विधानको तेस्रो संशोधनको मस्यौदा बनाएका थिए । बिहीबार सम्पन्न विशेष साधारणसभाले त्यसलाई पास गरेको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

संशोधित विधानले क्रिकेट खेलाडीलाई पनि क्रिकेट संघको सदस्य बन्ने बाटो खुलेको छ । साथै हाल अधिवेशन भइसकेका ३७ जिल्लाको हकमा विधानअनुसार भए नभएको हेर्न पाँच सदस्यीय अनुगमन समिति गठन गरिनेछ ।

प्याकुरेलका अनुसार संशोधित विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमोदन गरेपछि आईसीसीमा पठाइनेछ ।

साधारणसभामा पर्यवेक्षकका रुपमा आईसीसी प्रतिनिधि अमर शेख पनि उपस्थित थिए ।

अब शनिबार र आइतबार कोलकातामा बस्ने आईसीसीको बोर्ड बैठकमा नेपालबारे छलफल हुने बताइएको छ । साथै आगामी जुलाईमा हुने आईसीसीको साधारणसभामा नेपालको निलम्बन फुकुवा एजेण्डा बन्ने अपेक्षा गरिएको छ ।

साभारः अनलाइनखबर