१२ फागुन, सुर्खेत । आठौँ राष्ट्रिय खेलकुद छनौट अन्तरगत क्रिकेटको फाईनलमा सुर्खेत र रुकुम पश्चिम भिड्ने भएका छन्। आज भएको लिग चरणको अन्तिम खेलमा सुर्खेतले सल्यानलाई र रुकुमले दैलेखलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन्।
स्थानिय कालुन्चोक मैदानमा भएको खेलमा सुर्खेतले सल्यानलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा पुगेको हो । लिग चरणका दुबै खेलमा जितेको सुर्खेत उच्च मनोबलका साथ मैदान उत्रिदै छ । एकमा जित र एकमा हार भोगेको रुकुम भने सुर्खेतलाई घरेलु मैदानमा हराउदै जित हात पार्ने शुरमा रहेको छ।
टस जितेर पहिलो ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन जोड्न सफल भयो । सुर्खेतका भविन सारुमगरले सर्वाधिक ४३ रन बनाउदाँ कप्तान रविन्द्रजंग शाहीले ३३ रनको योगफल तयार पार्नुभयो । जवाफी ब्याटिङ्गमा उत्रिएको सल्यानले १७ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटियो ।
सल्यानका आशिक सिहँले २९ रन र दिनेश अधिकारीले १० रन जोडेपनि खेललाई जिताउन सक्नुभएन । यस्तै आजै भएको अर्को खेलमा रुकुम पश्चिमले दैलेखलाई ९ विकेटले हराउदै फाईनलको यात्रा तय गरेको हो । पहिले ब्याटिङ गरेको दैलेखले निधारित २० ओभरमा ९ विकेटको गुमाएर ९३ रन बनाउन सफल भयो । ९४ रनको सामान्य लक्ष्य पाएको रुकुमले १० ओभरमा १ विकेटको क्षेतिमा भेटाउदै जित हात पार्न सफल भयो । यस्तै तेस्रो स्थानका लागि भोली नै सल्यान र दैलेख विच खेल हुने छ ।
यता फुटबल तर्फको महिलामा जुम्ला विजयी भएको छ । मंगलगडी स्कुलको खेलमैदानमा भएको खेलमा निधार्धित समयमा गोल हुन नसक्दा नतिजा ट्राइबेकरबाट गरिएको हो । ट्राइबेकरमा सुर्खेतलाई ७-६ गोल अन्तरले हराउँदै जुम्लाले जित हात पार्न सफल भएको हो ।
यसैगरी पुरुष फुटबलतर्फ आज भएको खेलमा कालीकोट र सुर्खेत विजयी शुरुवात गरेका छन । कालीकोटले सल्यानलाई ३ -२ गोल अन्तरमा हराएको हो भने सुर्खेतले जुम्लालाइ २- १ गोल अन्तरले पाखा लगाएको हो।



Prawash Kumar Shakya । १२ फाल्गुन २०७५, आईतवार १९:०० बजे