सुर्खेती महिला फुटबल टिमलाई बिदाई


 


जेठ ,१० सुर्खेत
बर्दियामा भैरहेको प्रथम दमौली महिला कप फुटबल प्रतियोगितामा सहभागी हुन सुर्खेती महिला खेलाडीहरुको टोली आज बर्दिया प्रस्थान गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, फुटबल संघका उपाध्यक्ष चन्द्र श्रेष्ठ, महासचिव गणेशकुमार कार्कीसहितको टोलीले खेलाडीहरुलाई विदाई गरेको हो ।
कार्यक्रममा समितिका अध्यक्ष गिरीले फुटबल खेल मात्र नभई प्रतिष्ठाको समेत विषय भएको उल्लेख गर्दै सुर्खेत र सुर्खेतीको प्रतिष्ठा बढाएर आउन शुभकामना दिनुभयो ।
सिंगो कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै महिला टोली बर्दिया जान लागेको बताउँदै उहाँले खेलकुदका लागि कर्णाली उर्वर भूमि भएको जिकिर गर्नुभयो ।थुप्रै खेलका राष्टिय अन्तर्राष्टिय खेलाडीहरु कर्णालीबाट उदय भएको स्मरण गर्दै अध्यक्ष गिरीले खेल क्षेत्रले कर्णालीको गौरव र इज्जत बढाउने विश्वास व्यक्त गर्नुभयो ।यस्तै, संघका महासचिव कार्कीले उपाधिसंगै बर्दियाली जनताको मन जितेर आउन शुभकामना दिंदै खेलभावना संग संगै अनुशासन र मर्यादाको पनि ख्याल राख्न सुझाव दिनुभयो । सुर्खेती खेलाडीले उत्कृष्ट खेलसंगै उत्कृष्ट खेलभावना र अनुशासनपनि प्रदर्शन गरेको भनेर सुन्न पाइयोस । महासचिव कार्कीले भन्नुभयो, खेल र अनुशासन खेलाडीका लागि दुबै उत्तिकै महत्वपूर्ण पक्ष हुन । १६ जना खेलाडी र २ जना अफिसियलसहित १८ जनालाई बर्दिया जान आउनका लागि आर्थिक सहयोग नेपाल निर्माण व्यवसायी एकता समाज र खेलकुद विकास समितिले जर्सी सहयोग गरेका छन ।
सुर्खेतसहित दांग, बाँके, बर्दिया र दैलेखका गरी ७ टिमको सहभागिता रहने प्रतियोगिता जेठ १० देखि १५ गतेसम्म बर्दियाको बाँसगढी नगरपालिका ६ दमौलीमा हुने भएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार, उपविजेताले ३० हजार तथा सेमिफाइनल पुग्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
भोलिको आप्mनो पहिलो खेल बाँकेसंग खेल्न लागेको सुर्खेतले पहिलो खेल जिते सोझै सेमिफाइनलमा ठाउँ बनाउनेछ ।
साभारः देउती खबर ।