खिम माया पुनको ‘हत्या’ मा बैंक मेनेजरमाथि छानविनको माग


पोखरा २ फागुन । लेखनाथकी खिम माया पुनको हत्या भएको भन्दै आफन्तले छानविनको माग गरेका छन् । म्याग्दीको राम्चे १ स्थायी घर भई हाल लेखनाथ १२ निवासी २९ बर्षिय पुनको माघ २६ गते विहान वेगनासतालमा शब भेटिएको थियो ।

उनको तालमा डुवेर नभई बैंक मेनेजरको संलग्नतामा हत्या भएको आफन्तको आरोप छ । तालमा तैरिरहेको अबस्थामा शब भेटिएपनि तत्काल पहिचानको कुनै बस्तु नभेटेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको शब उनका वावु प्रेम बहादुर गर्वुजा पुनले २९ गते पहिचान गरेका थिए । सुरुमा विदेशी नागरिक भनिएपनि खिम माया रहेको तथ्य खुलेपछि आफन्तले अहिले उनको हत्या भएको आशंका सहित गहिरो अनुसन्धानको माग गरेका छन् । उनिहरुले खिम मायाको हत्यामा उनी कार्यरत बैंक मेनेजरकै संलग्नता रहेको आरोप लगाउदै जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतवार ज्ञापनपत्र समेत बुझाएका छन् ।

फेवा विकास बैंकको गगनगौडा शाखामा डेढ बर्षदेखि कार्यरत उनी माघ २५ गते शाखा प्रमुख अरुण सापकोटाको निर्देशनमा अफिसबाट बाहिरिएकी थिइन् । सापकोटाले प्रगति विवरण बुझाउन गरिएको आग्रह अटेर गरेकाले सो दिनको लागि घर जान भनेको पिसपोखराडटकमसँगको कुराकानीमा बताए । शाखा प्रमुख सापकोटाकै कारण आफ्नो छोरीको ज्यान गएको खिम मायाका बाबु प्रेम बहादुरको दावि छ । ‘खिम मायाको मृत्यु स्वभाविक नभइ हत्या भएको आशंका छ तसर्थ घटनाको गहिरो छानविन गरी घटनावारे सत्य तथ्य पत्ता लगाइ दोषी उपर कडा कारबाहीको माग गर्दछौ ’ पिडितको तर्फबाट नेपाल मगर संघ कास्कीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर रानामगरले पोखरामा श्रृङखलाबद्ध रुपमा महिला हत्याको घटना भइरहेकाले तत्काल शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरे । हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन जस्तोसुकै आन्दोलनमा पनि उत्रन तयार रहेको संघले जनाएको छ ।

मघ २५ गते १० बजे कार्यालयबाट निस्किएकी खिम मायाले दिउसो एक बजे बाबुलाई फोन गरेको र त्यसपछि मोवाइल अफ भएको आफन्तले जनाएका छन् । प्रहरीले माघ २६ गते शब भेटेपनि २८ गते मात्रै उनको खोजी सुरु भएको थियो । माघ २६ र २७ गते दुई दिन अफिस विदा भएकाले साथिहरुकोमा गएको होला भनि चुप लागेर बसेको र २८ गते बैंकका शाखा प्रमुख आफै आएर उनको खोजी सुरु गरेको बाबु प्रेम बहादुरले बताए । सापकोटाले यसअघि पनि बेलावखत गालीगलौज गर्ने गरेको उनले बताए ।

घटनामा संलग्न पक्राउ नपरेसम्म शब नबुझ्ने उनिहरुको उडान छ । स्रोतका अनुसार उनको पानीमा डुवेर बढी पानी पिएकै कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।साभारः पिस पोखरा डट कम ।