कसरी जलिन ४३ वर्षिय महिला ?, रहस्य बन्दै घटना, मुखदर्शक प्रहरी


समाचार डेस्क
सुर्खेत, २ फागुन ।
पूर्वी सुर्खेतको कल्याण गाविसमा एक महिलाको विभत्स हत्या भएको रहस्य बाहिर आएको छ । स्थायी ठेगाना भेरीगंगा नगरपालिका–१४ निवासी ४३ वर्षीया गंगा थापाको जलाएर हत्या गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

थापालाई गत माघ १४ गते कल्याण गाविसको स्याउली बजारमा जलाइएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले कल्याणकै ललिता कालुङ्गलाई माघ १८ गते पक्राउ गरेको थियो । ललितासँगै वडा प्रहरी कार्यालय रामघाटले गोविन्द थापा, डिलबहादुर कालुङ्ग र रमेश विकलाई पक्राउ गरेको हो ।

तर ललिताले एक्लै घटनामा संलग्न भएको भन्दै प्रहरीले बाँकी तीन जनालाई तारिखमा छोडेको छ । मृतक गंगाका आफन्तले भने ९० प्रतिशत शरीर जल्ने गरी ललिता एक्लै घटना घटाउन नसक्ने भन्दै अन्यलाई पनि कानूनी दायरमा ल्याउनु माग राखेका छन् ।

उनीहरु उचित न्यायको लागि आईतबार सदरमुकाम वीरेन्द्रनगर आएका छन् । ‘मानेको भाईलाई भेट्न जान्छु, भन्दै गंगा माघ १४ गते घरबाट कल्याण गएकी थिईन ।’ मृतक गंगाका श्रीमान कर्णबहादुर थापाले भने, ‘त्यही दिन राती करिव ९ बजेतिर गंगाको शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।’
गंगा जलेको खवर पाएलगत्तै आफन्तहरु माघ १४ गते प्रहरीसहित कल्याणको स्याउली बजार पुगेका थिए । नाङ्गै अवस्थामा पूरै शरिर जलेकी गंगालाई आफन्तले उपचारको लागि क्षेत्रीय अस्पताल काँलागाउँ ल्याएका थिए ।

गंगाको उपचार कालागाउँमा सम्भव नभएपछि अस्पतालले थप उपचारार्थ नेपालगञ्ज रिफर गरेको मृतक गंगाका छोरा कमल थापाले बताए । ‘नेपालगञ्जमा समेत उपचार सम्भव नभएपछि थप उपचारको लागि मिशन अस्पताल पाल्पा पु¥याएपनि आमालाई बचाँउन सकेन ।’ भावुक हुँदै कमलले भने,–‘उपचारको क्रममा पाल्पा अस्पतालमा माघ १७ गते आमाको मृत्यु भयो । अन्तिम दाहसंस्कार सुर्खेत ल्याएर गरेका हौं, हामी निकै पीडामा छौं प्रहरीले न्याचित गरेन् ।’

आफन्तका अनुसार गंगाको ९० प्रतिशत शरिर आगोले जलेको थियो । अस्पतालले समेत गंगाको शरिरमा कुनै प्रज्वनशील खन्याएर जलाइएको हुन सक्ने भन्दै पोष्टमार्टम रिपोर्ट दिएको छ ।

माग १८ गते नै रामघाट प्रहरीमा दोषिलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै उजूरी दिएको मृतक गंगाका छोरा कमलले बताए । प्रहरीले चार जनालाई नै पक्राउ गरेपनि बाँकी तीन जनालाई छोड्नु घटना रहस्यमय बनाउन खोजेको आरोप आफन्तको छ ।

‘आमाको पूरै शरिर जलेको छ, एक्लै ललिताले कसरी जलाउँन सक्छिन रु’ छोरा थापाले प्रश्न गर्दै थपे,–‘प्रहरीले विस्तारै घटना अर्कोतर्फ मोडदै छ, जुन न्याचित पक्ष होईन ।’ गंगालाई किन जलाए भन्नेबारे आफन्त नै अनविज्ञ छन् ।

जलेको अवस्थामा श्रीमतीको शरिरमा कपडा समेत नभएको गंगाका श्रीमान कर्णले बताए । आफन्तले गंगाको मृत्यु भएपछि समय दिन नसेको बताएका छन् । ‘हामी पीडामा थियौं, प्रहरीलाई उजूरी गरेकाले केही होला भन्ने आशा थियो ।’ मृतकका श्रीमान कर्णले भने,–‘प्रहरीले उल्टै पक्राउ परेका व्यक्तिलाई छोडेर हामीलाई दुःखी बनाएको छ ।’

यता, ईलाका प्रहरी कार्यालय छिन्चु प्रहरी निरिक्षक जय सिंह विष्टले आफन्तले भने जस्तो प्रहरी मुखदर्शक नभएको बताएका छन् । उनले घटनमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको बताए ।

बाँकी तीन जनाको संलग्नता नभएको देखिएकाले प्रहरीले पुनः बोलाएको बेला उपस्थित हुने गरी छोडेको विष्टले जानकारी दिए । घटनाको मुख्य आरोपी ललितालाई सुर्खेत जिल्ला अदालतबाट १० दिनको म्याद थपेर विस्तृत अनुसन्धान अघि बढाएको निरिक्षक विष्टले बताउँदै घटनाको दोषि कसैलाई पनि बाँकी नराख्ने उल्लेख गरे ।

महिलाको पूरै शरिर जल्नुमा गंगाले लगाएको कपडाले शरिर भरी नै आगो सल्कीएको हुन सक्ने अनुमान निरिक्षक विष्टको छ । घटनाबारे थप अनुसन्धान समेत जारी रहेकाले अपराधीहरु कानूनबाट उम्कन नसक्ने उनले दावी गरे ।
साभारः अनलाई सुर्खेत डट कम ।