साझा यातायातले किनेका ३० वटा सुविधा सम्पन्न नयाँ बस काठमाडौं भित्रन थालेका छन्। करिब ३ साता भारतको रक्सौलमा थन्किएका बस आइतबारदेखि राजधानी भित्रिन थालेका हुन्।
काठमाडौं महानगरपालिकाले साझा यातायतको सेयर किने वापत पाप्त १० करोड रकममध्येबाट ३० वटा बस किनिएको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले सेतोपाटीलाई बताए।
सोमबार दिउँसोसम्म साझाका २१ वटा बस काठमाडौं भित्रिसक्ने पाण्डेले बताए। साझाले खरिद गरेको एउटा बसमा प्राविधिक समस्या देखिएको र त्यो केहीदिनभित्रै आइपुग्ने उनले बताए। साझाका नयाँ बस दसैंपछि मात्र उपत्यकामा चल्नेछन्।
‘अहिले कर्मचारी छनोट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘रोड परमिट लिने काम र बिमा पनि बाँकि छ।’
नयाँ बस अहिले चलिरहेको बसभन्दा केही फरक र सुविधासम्पन्न छन्। अहिले किनेको साझा बस अपाङ्गमैत्री छ। पछाडिको ढोका ठूलो छ। व्हेलचेयर प्रयोग गर्ने यात्रुलाई सहज बनाउन ढोका ठूलो बनाइएको र उनीहरुलाई बस्नका लागि २ वटा सिल्ट बेस बसमा जडान गरिएको छ।
त्यस्तै पहिलाको बसमा ५४ सिट रहेको थियो भने अहिले ४० सिट क्षमताको छ। पहिलाको बसमा २५ वटा ह्यांगर थिए भने अहिलेकोमा ४० वटा छ। पहिलाको साझा बसमा हावा पास गर्न भेन्टिलेसन थिएन। अहिलेको बसमा ४ वटा भेन्टिलेसन छ।
प्लाष्टिक मोडलेट सिट बसमा जडान गरिएको छ। ५ स्थानमा यात्रुहरूलाई मोबाइल चार्ज गर्न सहज होस भनेर प्लकको व्यवस्था गरिएको छ।
साझा बस चलाउन माग भएको रुट
१, कलंकी-रत्नपार्क- बानेश्वर-भक्तपुर
२, लुभु-लामाटार-ग्वार्को-रत्नपार्क
३, भेसैपाटी-एकान्तकुना-महालक्ष्मीस्थान-रत्नपार्क
४, गोदावरी-लगनखेल
५, टोखा-रत्नपार्क
६, जोरपाटी-रत्नपार्क
यी स्थानहरूमा साझाको बस चलाउन माग बढी भएको छ। यद्यपी टुंगो लागिनसकेको पाण्डेयले बताए।
सूरूमा सञ्चालक समितिले बस कहाँ चलाउने भनेर निर्णय गर्ने र त्यसपछि यातायात व्यवस्था विभागमा रूट लिनका लागि आग्रह गरिने पाण्डेयले बताए।
अहिले साझाका १६ वटा बस उपत्यकामा चलिरहेका छन्।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । ३ आश्विन २०७३, सोमबार १७:०९ बजे