बालुवाटारमा छमछमी नाचे प्रधानमन्त्री


‘सत्तापक्ष र प्रतिपक्षबीच तिक्तता हट्यो, सहमतिमै संविधान संशोधन हुन्छ, तीनवटै निकायको निर्वाचन हुन्छ’1148646571ppppppppp.jpgकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन् । उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्न लागिपरेको बताएका छन् । उनले भने, “संविधान संशोधनको लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, तीन वटै निकायको चुनाव समयमै गर्नेगरि सरकारले काम गरिरहेको छ, यसको लागि मैले विशेष पहलकदमी लिएको छु ।”
आइतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा ‘संविधान संशोधन, कार्यान्वयन र दलहरुबीच एकता कायम गर्न रिपोर्टर्स क्लब नेपालको दबाबमूलक कार्यक्रमसहित पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सत्ता पक्ष र प्रतिपक्षबीचको तिक्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गरे ।
त्यस्तै प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणको लागि सरकारले द्रुत गतिमा काम गरिरहेको समेत स्पष्ट पारे । उनले भने, “सरकारले पुनःनिर्माणको कार्यलाई तिव्रताका साथ अघि बढाइरहेको छ, ३१ वटै भूकम्पप्रभावित जिल्लाहरुलाई एकरुपताका साथ काम अघि बढ्ने पुनःनिर्माण निर्देशन समितिमा सहमति भएको छ, यही बमोजिम काम हुन्छ ।”
पछिल्लो समय मुलुकमा नकारात्मक कुराहरु बढि प्रवाह हुने गरेको भन्दै  प्रधानमन्त्री दाहालले सकारात्मक कुरामा पनि सबैले ध्यान दिनुपर्ने बताए । उनले भने, “सकारात्मक कुराहरुमा हामीले धेरै ध्यान दिनुपर्छ, देउसीभैलोले सबैलाई यही शुभकामना दिओस् ।” देउसी टोलीसँग प्रधानमन्त्री दाहाल छमछमी नाचेका थिए ।
साभारः बाह्रखरी अनलाइन