पशु–बाली बीमा सम्बन्धी तालिम


सुर्खेत, ४ असोज ।
पशु तथा बाली बीमा सम्बन्धी किसानहरुका लागि एकदिने तालिम मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ  । यूएसएआइडीको आर्थिक सहयोग तथा कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रवर्धन कार्यक्रम (पहल) परियोजनाको व्यवस्थापन र सुन्दर नेपाल संस्थाको सहजीकरणमा किसानहरुका लागि एकदिने बाली तथा पशुबीमा सम्बन्धी तालिम दिइएको हो । THE-TRITNA-1
कृषहरुलाई पशु तथा बाली बीमा सम्बन्धी जानकारी दिनुका साथै उनीहरुको बालीनाली नष्ट हुने चिन्ताबाट पार पाउनका लागि बाली बीमा र पशुपालन गर्ने किसानलाई पशुबीमाका बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । यस्तै जानकारी पाएका किसानहरुका लागि पनि बीमा झन्झटीलो भन्ने भ्रमलाई चिर्नको लागि बाली–पशु बीमा सम्बन्धी तालिम दिइएको हो । तालिमको सहजीकरण जिल्ल कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेशकुमार थापा र एनएलजी निर्जिवन बीमा कम्पनीका विकास अधिकृत हरिहर अर्यालले गरेका थिए ।
कृषि प्रसार अधिकृत थापाले बालीबीमाको महत्वको बारेमा जानकारी दिँदै किसानहरुको नोक्सान परिपूर्ति गर्नका लागि बीमा सुरक्षित उपाय भएको बताए । उनले बीमांक पनि पूरै किसानले तिर्नुपर्ने नभएकोले बाली तथा पशुबीमाको उपभोग गरी कृषिमा लगानी सुरक्षित गरी आम्दानी बढाउन आग्रह गरे ।
परियोजना लागु भएका गाविस अन्तर्गत सम्झौता भएका सहकारीका किसान सदस्यहरुलाई बाली तथा पशु बीमाको महत्व, उपयोगिता, सहजता र सुरक्षाका विषयमा जानकारी दिनुका साथै कृषिमा आम्दानी बढाउन बीमाको भूमिकाका बारेमा तालिमका सहभागिमाझ चर्चा गरिएको थियो । परियोजना लागु भएका रजेना, धारापानी, लेखपराजुल, नेटा र काँफलकोट गाविसका सहकारीमा आवद्ध भएका २० जना सदस्यहरुको सहभागिता रहेको थियो ।