
सुर्खेत– कर्णालीको पत्रकारिता र कार्यरत पत्रकारहरुविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा भिडियो अन्तरवार्ता दिने ज्ञानेन्द्रबहादुर शाहीलाई कारवाही गर्न माग गरिएको छ।
विद्युतीय कारोबार ऐन र भ्रष्टाचारविरोधी अभियानसँग जोडेर बुद्धिजीवी, प्रेस स्वतन्त्रता तथा मानवअधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरुबाट अपराधको ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै कारवाहीकाे माग गरिएको हो।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टाचार विरुद्धको अभियन्ता भन्दै प्रचार गर्ने शाहीलाई कडा कारवाहीको माग गरेको हो। अन्तरवार्ता भाइरल भएपछि महासंघका सुर्खेत जिल्ला शाखा अध्यक्ष गणेशकञ्चन भारती र कर्णाली प्रदेश समिति अध्यक्ष दुर्गा थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कारबाहीको माग गर्दै उजुरी दिइएका थिए। सोही उजुरीका आधारमा सुर्खेत प्रहरीले वैशाख १८ गते विवादित अन्तरवार्ता दिएका शाहीलाई जेठ १५ गते वीरेन्द्रनगरको खुल्लामञ्चबाट पक्राउ गरेको छ।
फेसबुक अन्तर्वार्तामा स्वतन्त्रताको नाममा अर्काको अपमान र मानमर्दन गर्ने, गालीगलौज गर्ने, पत्रकारिता पेशाप्रति नै घृणा सिर्जना गर्ने कार्य शाहीबाट भएको ठहर महासंघले गरेको छ। ‘यो वा त्यो बहानामा पत्रकारमाथि गरिने यस्तो व्यवहार प्रेस स्वतन्त्रताविरोधी गतिविधि हो भन्ने हाम्रो ठहर छ’ महासंघले निकालेको विज्ञप्तीमा भनिएको छ, यो प्रकरणमा कर्णालीको पत्रकारिता क्षेत्र प्रत्यक्ष रुपमा जोडिएकोले हाम्रो गंभीर ध्यानाकर्षण भएको छ।’
शाहीले अनलाइन मिडियामा भिडियो अन्तर्वार्ता दिँदै पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई तथानाम गालीगलौज गरेका थिए। अन्तर्वार्ताका क्रममा ‘यहाँका पत्रकार कुकुर, दलाल हुन्, भ्रष्टाचारीका मतियार हुन्’ भन्ने जस्ता अपाच्य शव्द प्रयोग गरेका थिए। ‘घटनाको गहिराइमा नपुगेरै शाहीको अपराध संरक्षण गर्ने कार्य भएको भन्दै महासंघले विज्ञप्ती निकालेको हो।
साभारः देशसञ्चार ।
Milan Shrestha । १८ जेष्ठ २०७६, शनिबार १५:४७ बजे