वीमा रकम हस्तान्तरण ।


IMG_7776-1-1024x768मिलन श्रेष्ठ ।
सुर्खेत, ९ कात्तिक । मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघमा आवद्ध यातायात व्यवसायी स्वर्गिय भीमबहादुर शाहीको परिवारलाई पौने आठ लाख आर्थिक सहयोग रकम प्रदान गरिएको छ । गत भदौ २५ गते हृदयघातका कारण निधन भएका शाहीको परिवारलाई मध्यपश्चिमाञ्चल व्यवसायी संघले मंगलबार उक्त सहयोग रकम प्रदान गरेको हो ।

विगत लामो समदेखि संघमा आवद्ध शाहीकि धर्मपत्नी देवीसरा शाहीलाई संघका अध्यक्ष विष्णुबहादुर खड्काले सातलाख ७२ हजारको चेक हस्तान्तरण गरेका हुन् । उक्त चेक हस्तान्तरणपछि अध्यक्ष खड्काले संघमा आवद्ध कर्मचारी तथा व्यवसायी दुवैको मृत्यु अथवा कुनै ठूलो दुर्घटना परेमा सबै व्यवसायीहरु मिलेर सहयोग गर्ने गरेको जानकारी दिए ।

उनले समितिमा आवद्ध ३ सय ८६ वटा गाडीबाट दुई÷दुई हजारका दरले उठाएर शाही परिवारलाई सात लाख ७२ हजार आर्थिक रकम सहयोग गरेको बताए । कुनैपनि व्यवसायीको निधन भएमा आश्रित परिवारलाई राहत स्वरुप समितिको अगुवाईमा व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरी प्रदान गर्ने गरिएको छ । स्वर्गिय भिमबहादुर शाहीको ना २ ख ५८४३ नम्बरको गाडी मध्यपश्चिम यातायात व्यवसायी समितिमा आवद्ध रहेको छ । अध्यक्ष खड्काले शाहीको निधनले समग्र समितिलाई ठूलो क्षती पुगेको भन्दै उनको मृत आत्मको चिरशान्तिको लागि श्रदाञ्जली समेत व्यक्त गरे ।

समितिमा आवद्ध कर्मचारीको निधन भएमा आश्रित परिवारलाई प्रत्येक गाडीबाट एकहजारका दरले आर्थिक रकम संकलन गरी राहत स्वरुप प्रदान गर्ने गरिएको अध्यक्ष खड्काले जानकारी दिए । आगामी दिनमा पनि मध्यपश्चिम यातायात व्यवसायी समितिसँग आवद्ध व्यवसायी वा कर्मचारीलाई आपत परेको अथवा निधन भएको खण्डमा आश्रित परिवारका लागि यसरी नै आर्थिक रकम संकलन गरी प्रदान गर्ने जानकारी दिए ।