ग्रामीण सहकारीको साधारणसभा


मिलन श्रेष्ठ
सुर्खेत, १२ कात्तिक ।
ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैँकका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष ओमप्रकाश सुवेदीको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो । ग्रामीण जागरणले आर्थिक वर्ष २०७२÷०७३ मा १७ करोड २७ लाख ७६ हजार नौ सय १८ रुपैयाँको कारोबार गरेको छ । साधारणसभामा कोषाध्यक्ष टीकाराम खरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा २१ लाख ३८ हजार पाँच सय १० रुपैयाँ यथार्थ नाफा गरेको छ । संस्थाले साधारणसभाको अवसरमा आगामी नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ । संस्थालाई समृद्ध बनाउनका लागि आफ्ना शेयर सदस्यहरुलाई सीप विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
सहकारीले विभीन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग समन्वय गरी व्यवसायी सदस्यहरुको सीप विकास गर्ने प्रकृतिका तालिमहरुमा सहभागी गराउने भएको हो । संस्थाका सचिव धनबहादुर ढेँगाले संस्थाको कार्यक्षेत्रभित्र व्यवसायीहरुको नमूना वस्ती तथा टोल निर्माणको थालनी गर्ने जानकारी दिए । ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुले गर्दै आएको व्यवसायलाई सहयोग पुग्नेगरी कृषि, लघु तथा घरेलु उद्योग, सीप विकास र व्यापार व्यवसायसम्वन्धि तालिम सञ्चालन गर्ने भएको छ ।
उनले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले राज्य पुनर्संरचनाअनुसार वीरेन्द्रनगर क्षेत्रलाई संस्थाको कार्यक्षेत्र गराउनका लागि पहल गर्ने बताइएको छ । साधारणसभामा सल्लाहकार टीकाराम आचार्य, हस्तवीर आधरभूत विद्यालयका अध्यक्ष पूर्णप्रसाद पौडेल, समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतका अध्यक्ष मिना तिवारी शर्मा लगायतको सहभागिता थियो ।