राजधानीकालागि जुम्लामा आन्दोलन शुरु


हरिकृष्ण कुमाई, जुम्ला
२० पौष
६ नम्वर प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने माग राख्दै जुम्लामा आजदेखि आन्दोलन शुरु भएको छ । आज पहिलो दिन नागरिक समाजको अगुवाईमा सदरमुकाम खलंगामा जुलुस निकालिएको हो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयबाट शुरु भएको आन्दोलन विजयनगर हुदै जिल्ला प्रशासन कार्यालय नजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।

अस्थायी राजधानी सुर्खेत खारेज गर, ६ नम्वर प्रदेशको राजधानी जुम्लामा घोषणा गर, कर्णाली एकता जिन्दावाद, संघियताको मर्म अनुसार राजधानी स्थापना गर, लगायतका नारा लगाउदै र्‍याली निकालिएको थियो ।

जुम्लीलाई र कर्णालीलाई कमजोर ठान्नु सरकारको ठुलो भुल हुनेछ । कर्णाली आर्थिक सम्भावनाले भरिपूर्ण र नेपाललाई नै पाल्न सक्ने अर्थतन्त्रको समेत क्षमता भएकोले सरकारले हाम्रो मागलाई सम्वोधन नगरे राष्ट्रिय अर्न्तराष्ट्रिय अदालतमा जाने आन्दोलनका युवा अगुवा अनुप थापाले चेतावनी दिए ।

कोण सभामा बोल्दै अर्का युवा अगुवा धर्मेन्द्र महताराले राज्यले कर्णालीलाई पहिले देखि नै सौतेनी व्यवहार गर्दै आएको र आज सम्म पनि यहि व्यवहार गरेकोले आज हामी जुम्लीबासीहरु राजधानीको लागि आन्दोलन गर्न बाध्य भएका छौ ।
६ नम्वर प्रदेशको राजधानी कर्णाली बाहेकको विकल्प नभएकोमा बताए । उनले भने, हामीले जुम्ला राजधानीका लागि आन्दोलन गरेका छैनौ, कर्णालीको जुनसुकै जिल्लामा भएपनि ६ नम्वर प्रदेशको राजधानी हुनु अहिलेको आवश्यकता हो । कर्णाली राजधानीका लागि घनिभुत आन्दोलनका कार्यक्रम अघि सार्ने उनले चेतावनी समेत दिदै अधिकार मागेर नभै खोसेर लिनु पर्ने मान्यता बमोजिम जुम्लावासी आन्दोलनमा उत्रिएको उनले वताए ।

त्यस्तै सभामा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कर्णालीमा राजधानीको लागि सवैको एेक्यबद्धता खाँचो औल्याए । कर्णालीले अधिकारको लडाई लड्ने समय भएकोले सवैको हातेमालो जरुरी देखिएको छ । समार्थ्य र पहिचानका आधारमा ६ नम्वर प्रदेशको राजधानी कर्णाली मै तोकिनु पर्ने, राजधानी तोक्नका लागि प्रशासनिक सुगमता, भौगोलिक र वैज्ञानिक मापदण्ड प्रयोग गर्नु पर्ने, राज्यको मुलधारमा नआउन्जेल कर्णालीलाई साविकको पिछडिएको उत्पिडित क्षेत्र कायम गर्नु पर्ने र भुगोलको अपमान गरि निर्वाचन क्षेत्र बाँडफाड गरिएकोले सम्मान सहित कर्णालीका ५ जिल्लाको निर्वाचन क्षेत्र दोव्वर गरिनु पर्ने माग राख्दै आन्दोलनमा होमिएको महतले बताए ।

कर्णालीलाई औधोगिक शहर बनाएर कर्णालीलाई राजधानी दिन कन्ज्युस्याई नगर्न केन्द्रका नेतालाई जुम्लावासीले आन्दोलन गरेका छन । उत्तरी नाका कर्णाली संगै जोडिएको र प्रदेश नम्वर ६ को आर्थिक समृद्धि पनि कर्णाली हुने भएकोले कर्णाली राजधानीको पक्षमा लविङ गर्न कर्णालीबाट प्रतिनिधी सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदलाई आग्रह गरिएको छ ।
सदियौ देखि ठगिएको कर्णालीले मुक्ति पाउनको लागि भएपनि कर्णालीका ५ वटै जिल्लामा आन्दोलनको आँधी ल्याउनुपर्ने नागरिक समाज जुम्लाले आग्रह गरेको छ ।