जेठ-असारमा कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्ने


३१ चैत, काठमाडौं । कोरोनाको संक्रमण पुनः बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जेठ–असार महिनामा उच्च विन्दुमा पुग्न सक्ने जनाएको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक करिब ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो प्रक्षेपण गरिएको हो’ ‘त्यसका लागि आवश्यक तयारी पनि गरिएको छ ।’

मन्त्री त्रिपाठी अहिले युवा र कम उमेरका समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको बताउँदै संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा १ महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको जानकारी दिनुभयो ।

त्यस्तै विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै टेष्ट गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा १ हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु पनि भएको जानकारी मन्त्री त्रिपाठीले दिनुभयो ।