सुर्खेतमा १ उपमहानगरपालिका सहित ९ स्थानीय तह प्रस्ताव


प्रस्तावित नगरपालिका ४ र गाउँपालिका ५

Surkhet-Map

२१ कात्तिक, काठमाडौं । स्थानीय तह र सिमाना निर्धारण गर्दा सुर्खेत जिल्लामा एक उपमहानगरपालिकासहित ९ वटा स्थानीय तह गठनको प्रस्ताव भएको छ । जसमध्ये ५ वटा गाउँपालिका र ४ वटा नगरपालिका पनि प्रस्ताव गरिएको छ ।

सुर्खेतले नयाँ मापदण्डअनुसार पुनः जिल्लाभर स्थानीय तह निर्धारण गरी आयोगलाई पठाएको छ । सुर्खेतमा अहिले ३ वटा नगरपालिका र ३९ वटा गाविस छन् । ती सबै मिलाएर सुर्खेतमा ९ स्थानीय तहको प्रस्ताव भएको हो ।

हालको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको छ । सुर्खेतले प्रतिवेदनमा वीरेन्द्रनगरमा थप तीन गाविसहरु रतु, गढी र गर्पनलाई मिसाइने छ । भौतिक पूर्वाधार र आम्दानीको स्रोतका आधारमा हालको वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका समेत बनाउने सकिने भनी प्रतिवेदनमा खुलाइएको छ ।

यस्तै प्रतिवेदनमा गाउँपालिकामा प्रस्तावित लेकबेशी गाउँपालिकालाई पनि नगरपालिका बनाउन सकिने उल्लेख छ ।लेकबेशी गाउँपालिकामा साटाखानी, कल्याणपुर, दशरथपुर, नेटा र लेखफर्सा गाविसलाई मिलाउने प्रस्तावित प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सुर्खेतले स्थानीय तहको संख्या प्रस्ताव गर्दा वडाको संख्या समेत निर्धारण गरेर पठाएको छ । बिरेन्द्रनगर नगरपालिकामा सबैभन्दा बढी १६ वटा वडा संख्या रहने प्रस्ताव छ ।

सुर्खेत जिल्लाका प्रस्तावित स्थानीय निकायहरु

चौकुने गाउँपलिकाः ५ वटा गाविस मिलाएर प्रस्ताव गरिएको यस गाउँपालिका ३८१.०३ क्षेत्रफलमा फैलिएको छ । लगाम, बेतान, विजौरा, गुटु, घाटगाउँ गाविसलाई मिलाएर प्रस्ताव गरिएको यस गाउँपालिकाको कुल जनसंख्या २५ हजार रहेको छ । यस गाउँपालिका अन्र्तगत १० वटा वडा कार्यालय रहनेछन् ।

पञ्चपुरी नगरपालिकाः साल्कोट, बावियाचौर, छाप्रे, विद्यापुर र तातापानी गाविसलाई मिलाएर पञ्चपुरी नगरपालिका प्रस्ताव गरिएको छ । यस नगरपालिकाको जनसंख्या ३२ हजार रहने छ भने ११ वटा वडा कार्यालय स्थापना गरिने प्रस्ताव गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाः यसमा थप तीन गाविसहरु, रतु, गढी, गर्पन गाविस गाभ्ने प्रस्ताव छ । भौतिक पूर्वाधारले सम्पन्न भएको र जनसंख्या पनि एक लाखभन्दा माथि रहेकाले यसलाई उपमहानगरपालिकाको रुपमा विकास गर्न सकिने प्रस्ताव गरिएको छ ।

भेरीगंगा नगरपालिकाः यस नगरपालिकामा भेरीगंगा र लेखपराजुल गाविसलाई मिलाएर भेरीगंगा नगरपालिका बनाउन प्रस्ताव गरिएको छ । यहाँको जनसंख्या करिब ५१ हजार रहेको छ भने त्यहाँ १३ वटा वडा कार्यालय प्रस्ताव गरिएको छ ।

सुभाघाट नगरपालिकाः यस नगरपालिकामा गुर्भाकोट नगरपालिका तथा साहारे, मालारानी र धारापानी गाविसलाई मिसाइने छ । प्रस्तावित यस नगरपालिकामा करिब ४३ हजार जनसंख्या रहेको छ भने १४ वटा वडा कार्यालय प्रस्ताव छ ।

बराहताल गाउँपालिकाः पोखरीकाँडा, कुनाथरी, लेखगाउँ, हरिहरपुर, तरंगा गाविसलाई मिलाएर बराहताल गाउँपालिका प्रस्ताव गरेको छ । यस गाउँपालिकामा २६ हजार जनसंख्या रहेको छ । उनीहरुको सेवाका लागि १० वटा वडा कार्यालयहरु रहने प्रस्ताव गरिएको छ ।

चिङ्गाड गाउँपालिकाः चिङ्गाड गाउँपालिका सुर्खेत जिल्लाको सबैभन्दा सानो र गरिब गाउँपालिका बन्नेछ । रजेनारानीबास, मटेला, अवलचिङ, पाम्का गाउँविकास समितिलाई मिलाएर यस गाउँपालिका प्रस्ताव भएको हो । प्रस्तावित चिङ्गाड गाउँपालिकामा करिब १७ हजार जनसंख्या रहनेछ । ६ वटा वडा कार्यालयहरु प्रस्ताव गरिएको छ ।

लेकबेशी गाउँपालिकाः साटाखानी, कल्याण, दशरथपुर, नेटा र लेखफर्सा गाविसलाई मिलाएर लेकबेशी गाउँपालिका प्रस्ताव गरिएको छ । यस गाउँपालिकालाई अहिले नै नगरपालिकाको रुपमा विस्तार गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ । प्रस्तावित लेकबेशी गाउँपालिकामा करिब ३० हजार जनसंख्या रहेको छ भने यहाँ १० वटा वडा कार्यालय प्रस्ताव गरिएको छ ।

सिम्ता गाउँपालिकाः सिम्ता गाउँपालिकामा सातवटा गाविसहरु रहने छन् । घोरेटा, काफलकोट, बजेडीचौर, काप्रीचौर, डाँडाखाली, खानीखोला, आग्रीगाउँलाई मिलाएर सिम्ता गाउँपालिका प्रस्ताव गरिएको हो । यस गाउँपालिकामा २५ हजार जनसंख्या छ ।

सुर्खेत जिल्ला पुर्नसंरचना स्थानीय तहको विवरण,२०७३

क्र.स. गा.पा./न.पा. साविकका गा.वि.स./न.पा. जनसंख्या क्षेत्रफल (वर्ग कि.मि.) प्रस्तावित वडा संख्या कैफियत
१. चौकुने गा.पा. लगाम,बेतान,विजौरा,गुटु,घाटगाउँ       25,240 381.03 10
२. पञ्चपुरी न.पा. साल्कोट, बावियाचौर, छाप्रे, विद्यापुर, तातापानी        32,231 329.90 11
३. बराहताल गा.पा. पोखरीकाँडा, कुनाथरी, लेखगाउँ, हरिहरपुर, तरङ्गा       25,943 455.09 10
४. विरेन्द्रनगर न.पा. वि.न.न.पा., रतु, गढी, गर्पन       101,317 260.81 16 उपमहानगरपालिका कालागि प्रस्ताव
५. चिङ्गाड गा.पा. रजेनारानीबास, मटेला, अवलचिङ, पाम्का       17,275 170.09 6
६. लेकबेशी गा.पा. साटाखानी, कल्याण, दशरथपुर, नेटा, लेखफर्सा       30,295 180.92 10 नगरपालिकाका लागि प्रस्ताव
७. भेरीगङ्गा न.पा. भेरीगङ्गा, लेखपराजुल       41,407 150.19 13
८. गुर्भाकोट न.पा. शुभाघाटन.पा., साहारे, मालारानी, धारापानी       43,815 228.62 14
९. सिम्ता गा.पा घोरेटा, काफलकोट, बजेडिचौर, काप्रीचौर, डाँडाखाली, खानीखोला, आग्रीगाँउ      25,845 241.60 9

साभारः अनलाइन खबर