सत्यनिरुपणमा उजुरीको चाङ


काठमाडौं-सत्यनिरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितका उजुरीको चाङै लागेको छ । उजुरी दिने म्याद (असार २) दुई दिन मात्र बाँकी रहँदा आयोगको बबरमहलस्थित कार्यालयमा सोमबार एकैदिन २ हजार ६ सय २८ उजुरी दर्ता भएका छन्।
चर्चित मैना सुनुवार हत्याकाण्ड र मुक्तिनाथ अधिकारी हत्या प्रकरणका पीडित परिवारले पनि सोमबारै उजरी दर्ता गराएका छन्।

जिल्लास्थित विभिन्न शान्ति समितिमार्फत लिइएका उजुरीसमेत गरी अहिलेसम्म ३० हजार ७ सय ४४ वटा उजुरी दर्ता भएको आयोगले जानकारी दिएको छ।

माओवादी सशस्त्र द्वन्द्वकालका घटना छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन एवं पीडित परिवारलाई क्षतिपूर्ति भराउन सरकारले सत्यनिरुपण आयोग बनाएको हो । आयोगले उजुरीमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

माओवादी पक्षबाट गराइएको शिक्षक मुक्तिनाथ अधिकारी हत्या र राज्यपक्ष (सेना) बाट गराइएको मैना सुनुवार हत्या प्रकरणसमेत आयोगका अनुसन्धान दायरामा आएका छन् ।

माओवादी सशस्त्र लडाकुले शिक्षक अधिकारीलाई कक्षाकोठाबाटै कब्जा गरी केही माथि लगेर रुखमा बाँधी गोली हानेका थिए । चन्दा नदिएको झोंकमा सुराकीको आक्षेप लगाउँदै अधिकारीमाथि छुरासमेत धसेर निर्मम हत्या गरेका थिए ।

मैनालाई सेनाले उनको घरैबाट नियन्त्रणमा लिई बेपत्ता बनाएको थियो । पछि उनको शव गाडिएको अवस्थामा फेला परेको थियो ।

मुक्तिनाथ र मैनालगायतका द्वन्द्वपीडित परिवारले साझा चौतारी बनाएर न्यायका लागि लडिरहेका छन् । उजुरी दर्तापछि मंगलबार उनीहरूले आयोग पदाधिकारीसँग छलफल गरे । ‘राज्यले बनाएको आयोग हो, त्यसैले सकेजति सहयोग गर्छौैं,’ देवीले भनिन्, ‘कस्तो खालको न्याय दिन्छ, हेर्न बाँकी छ ।’

आयोग सदस्य माधवी भट्टले न्याय पाउनेमा आश्वस्त हुन पीडित परिवारलाई आग्रह गरिन् । ‘आयोगले काम गरिरहेको छ,’ उनले भनिन्, ‘सबै घटना छानबिन गरी न्यायका लागि पहल गर्छौं ।’

अहिले राज्यकै तर्फबाट द्वन्द्वकालीन घटनामा उजुरी माग गरिएपछि परिवारमा केही आशा जागेको छ । अधिकारी पत्नी इन्दिरा र छोराछोरी मंगलबार आयोग कार्यालय पुगेर उजुरी दर्ता गरेका थिए । पश्चिमाञ्चलबाट १४९१ नम्बरमा दर्ता निवेदनमा अधिकारीलाई अपहरण, शारीरिक, मानसिक यातनापछि हत्या गरिएको बेहोरा उल्लेख छ । उजुरीकर्तामा पत्नी इन्दिरा, छोरा सुमन र छोरी सुनीताको नाम छ ।

‘अब त न्याय पाइएला कि भनेर आएको,’ इन्दिरा भन्दै थिइन्, अचानक पीडाले उनको गला अवरुद्ध भो । पीडा लुकाउन नसकेर मुहार अर्काेतिर फर्काइन् ।

‘घटना कसले र किन गरायो, त्यसको राजनीतिक तहबाट जवाफ आउनुप¥यो,’ मृतक अधिकारीका छोरा सुमनले भने, ‘पीडकले सांकेतिक रुपमै भए पनि सजाय पाउनुप¥यो, बाँकी विषयमा के–कति मिल्न सकिन्छ, हामी हेर्छौं ।’ उजुरीमा उनीहरूले तत्कालीन माओवादीका देवेन्द्र पौडेल, धु्रव अधिकारी, साधुराम घिमिरेसहित १२ जनालाई विपक्षी बनाएका छन् । मैनाकी आमा देवीले छोरीको हत्यामा संलग्नलाई कारबाही माग्दै निवेदन दर्ता गराएकी हुन् । छोरीको बलात्कार र हत्या भएको पुष्टि हुँदा पनि पीडकले सजाय नपाएकोमा उनी दुःखी छिन् । मैनाको शवाशेष १२ वर्षदेखि राजधानीको शिक्षण अस्पतालमै छ । दोषीलाई सजाय नभएसम्म नजलाउने देवीको प्रण छ ।

‘चौध वर्षकी कलिली थिई,’ आँखाभरि आँसु पार्दै उनले भनिन्, ‘नौ कक्षा पढ्थी, मसँग बदला लिन सेनाले उसलाई मारे ।’ १८ वर्षे बहिनी रिना रसाइलीलाई २०६० सालमा सेनाका जवानले घरबाटै थुतेर मारेपछि सञ्चारकर्मी बोलाएर सार्वजनिक गरेको रिस छोरीमाथि फेरेको उनको भनाइ छ ।

२०६० साल फागुन ११ गते काभ्रे, खरेलथोकस्थित घरबाटै सेनाले मैनालाई लिएर गएको थियो । ‘म घरमा थिइनँ, छोरीलाई लछारपछार पार्दै लगेछन्,’ देवी भन्छिन्, ‘श्रीमानसँग मलाई ब्यारेकमा बुझाएर छोरी लैजान भनेका रहेछन् ।’ पाँचखालस्थित ब्यारेकबाट बेपत्ता पारिएकी मैनाको शव २ वर्ष ८ महिनापछि गाडिएको अवस्थामा फेला परेको थियो ।

देवीले तत्कालीन सेनाका निरञ्जन बस्नेत, बबी खत्री, सुनील अधिकारी र अमित पुनविरुद्ध काभ्रे जिल्ला अदालतमा २०६२ चैतमा मुद्दा हालिन् । सेनाको दबाबले निर्णय नभएपछि मुद्दा सर्वोच्च सारियो । सर्वोच्चले आरोपीलाई अदालत उपस्थित गराएर बयान लिन आदेश ग¥यो । तर, सेनाले संलग्नहरूलाई अदालतमा उपस्थितै गराएन । मानवअधिकारकर्मीको दबाबमा उनीहरूको सम्पत्ति रोक्कासम्म भयो ।

‘अदालतको फैसला बाँकी छ, यता फिर्ता हुन्न भनेका छन,’ देवीले भनिन्, ‘न्याय पाइनँ भने कोही नेता र सेना विदेश जान पाउनेछैनन्, उतै पक्राउन बाध्य हुनेछौं, हाम्रा उजुरी टोकरीमा फाल्न दिन्नौं ।’ पाँच वर्षपछि चुनावका बेला पतिको पनि हत्या भएपछि देवी एक्ली छिन् । आयस्ता नहुँदा दुई छोरा पाल्न धौधौ परेको बताउँछिन् ।

‘बाँधे, गोली हाने, अनि छुरा धसे’

खरानी रंगको प्यान्ट । सेतो सर्टमाथि इस्टकोट अनि रातो गलबन्दी । त्यस दिन बडो ठाँटिएर स्कुल पुगे मुक्ति अधिकारी । लमजुङ, दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक उनी अब प्रधानाध्यापक भएका थिए । नयाँ जिम्मेवारी पाएपछि उनमा निकै जोसजाँगर थियो । परिवार उत्तिकै खुसी ।

‘घरबाट निकै रमाइलो गरी विद्यालय पठाएका थियांै उहाँलाई,’ जेठा छोरा सुमन भन्छन्, ‘तर, के थाहा बेलुकी फर्कनुहुन्न भनेर ।’ २०५८ माघ ३ गतेको कहालीलाग्दो घटना अहिले पनि झल्झली सम्झिरहन्छन् सुमन ।

शिक्षक अधिकारी तत्कालीन सशस्त्र द्वन्द्वरत नेकपा माओवादीको निसाना बन्न पुगे । सबैसँग सद्भावपूर्ण व्यवहार, अहिंसात्मक विचार राख्ने उनी गाउँकै प्यारा थिए । द्वन्द्वरत पक्षलाई काटमार नगर्न सम्झाउँथे ।

त्यस दिन सहकर्मी शिक्षकको बधाई ग्रहणपछि उनी प्रफुल्ल मुद्रामा कक्षा प्रवेश गरे । प्रधानाध्यापक भए पनि पढाउन छाडेनन् । मध्य दिउँसो कक्षा १० का विद्यार्थीलाई पढाउँदै थिए । एक्कासि दस–बाह्र जनाको सशस्त्र डफ्फा स्कुल छि¥यो ।

‘हेडसर को हो ?,’ तीमध्येको एकले सोध्यो ।

‘मुक्ति सर हुनुहुन्छ,’ एक शिक्षकले भने, ‘अहिले कक्षा दसलाई पढाइरहनुभएको छ ।’

हतियारधारी डफ्फाले अधिकारीलाई तत्काल बाहिर आउन उर्दी गर्यो । ‘म पढाइरहेको छु, किन निस्कनु, केही काम भए पछि कुरा गरौंला,’ उनले भित्रैबाट जवाफ दिए । तर, माओवादी कार्यकर्ता जबर्जस्ती कक्षामै पसे । अधिकारीलाई डोरीले बाँधे ।

विद्यार्थीले हतियारधारीसँग अनुनय गरे, ‘हाम्रो सरलाई यसो नगर्नुस्, छाडिदिनुस् ।’ तर, उनीहरूले सुनेनन्, केही बेरमा छाडिदिने रुखो जवाफ दिँदै अधिकारीलाई लिएर गए ।

गाउँको उकालोमा पुर्याएपछि उनीहरूले अधिकारीलाई बन्दुक सोझ्याइसकेका थिए । ‘यहाँ कसलाई मार्न खोजेका, नहान गोली !’ गाउँका महिला कराएपछि भने उनीहरू केही हच्किए । अधिकारीलाई सरासर डाँडामा लिएर गए । अनि एउटा रुखछेउ रोकिए । अधिकारीकै गलबन्दीको पासो हालेर उनलाई अँठ्याउँदै रुखमा कसे । अनि निर्मम बनेर गोली ठोके । त्यतिले पनि चित्त नबुझेर छुरा रोपे ।

मुखमा बुजो कोचिएकाले अधिकारीको चित्कार गाउँसम्म पुग्न पाएन । एम्नेस्टी इन्टरनेसनल–७९ का स्थानीय संयोजक पनि थिए अधिकारी ।

‘स्कुलमा संस्कृत शिक्षा दिएको र सुराकी गरेको आरोप लगाएर मारे,’ सुमन भन्छन्, ‘हामी त्यही शिक्षा लिएर स्नातक गर्दै थियांै ।’ अपराह्न घटना थाहा पाएर उनीहरू पुग्दा अधिकारीको रगताम्मे शरीर रुखमा लत्रिरहेको थियो । अधिकारी निमित्त प्रधानाध्यापक रहँदा माओवादीले शिक्षकको २५ प्रतिशत दसंै पेस्की माग गरेका थिए । अधिकारीले त्यसमा असहमति जनाएपछि उनीहरु रुष्ट थिए ।

माओवादीले गाउँको एक मात्र फोन कब्जामा लिएर केही पर फालिदिएका थिए । त्यही जोडेर गाउँलेले प्रहरीलाई खबर गरे तर त्यस दिन पुगेन । ‘आधा रातसम्म बुबाको लास कुरेर बस्यौं,’ सुमन सम्झन्छन्, ‘देखेर मन चिरिन्थ्यिो तैपनि घरघरी हेरिरहन्थेँ ।’

भोलिपल्ट प्रहरी आएर मुचुल्का उठायो । परिवारले किटानी जाहेरी दियो । त्यसपछि पनि न्यायका लागि पटकपटक जिल्ला प्रशासनदेखि प्रहरीसम्म धाइरहे । तर, अहिलेसम्म पनि उनीहरूले न्याय पाएका छैनन् । न अनुसन्धान अघि बढ्यो न त दोषीलाई कारबाही भयो।

साभारः नागरिक अनलाइन