व्यवहारिक शिक्षा कार्यान्वयन हुनुपर्ने– मन्त्री भण्डारी


भाद्र २२, सुर्खेत ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बदलिँदो समाजमा व्यवहारिक शिक्षा कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ । हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने उहाँको भनाई छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने लक्ष्य अघि सारेको भन्दै चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गरिने जानकारी दिनुभयो । सिकाई उपलब्धि हाँसिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिने भन्दै मन्त्री भण्डारीले प्रविधिमैत्री विद्यालय सञ्चालन र खस्किँदो शिक्षा प्रणालीमा सुधार ल्याउन सरकार शिक्षा रुपान्तरणका अभियानकर्मीलाई सहयात्री बनाउने योजना रहेको सो अबसरमा सुनाउनुभयो ।