नागरिकहरुको सुरक्षाका लागी प्रहरी विट निर्माण गरिने



सुर्खेत, २५ साउन । कर्णाली प्रदेश राजधानी प्रवेशद्वारको दक्षिणी नाका भेरीगंगा नगरपलिकाको प्रहरी पहुँच बाहिरका वडाहरुमा प्रहरी विट निर्माण गरिने भएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा कार्यालयले भेरीगंगा नगरपालिकाको सेवाहरु नपुगेका थप तीन वडाहरुमा प्रहरी विट स्थापना गर्न लागेको हो ।

प्रहरीको पहुँच नपुगेको भेरीगंगा नगरपालिकाको वडा नम्बर १,२ र ३ तीन महिनाभित्रै प्रहरी विट निर्माण गर्ने कार्यालयको भनाई छ । नागरिकहरुको सुरक्षामा प्रहरीबाट विगतमा भएका कमिकमजोरीलाई ग्रहण गरेर सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी पहूँच बाहिर रहेका इलाकाहरुमा प्रहरी विट निर्माण गर्न लागेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।

उनले सबै ठाउँमा अहिले प्रहरीको पहुँच पुग्न नसेकाले विनावर्दीका नागरिकहरुले आफ्नो गाउँ–ठाउँको सुरक्षाको लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सहभागीहरुले प्रहरीको सेवा प्रभावकारी नभएकाले सेवालाई समय सापेक्ष बनाउन जोड दिए ।

उनीहरुले घरेलु हिंसा, लागु औषध, बलात्कार जस्ता घटनाहरुमा प्रहरीले निगरानी बढाउन सहभागीको आग्रह थियो । यस्तै, प्रहरीले शहर क्षेत्रमा मात्रै गस्ती नगरेर दुर्गम ठाउँहरुमा पनि आफ्नो उपस्थिती जनाउन सहभागीले सुझाएका थिए ।

नगरपालिका क्षेत्रमा बालविवाह, बालश्रम जस्ता गतिविधि व्याप्त रहेकाले यस्ता घटनाहरुमा पनि प्रहरीले खोज्दिनु पर्ने उनीहरुको जोड थियो । सहभागीहरुको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले प्रहरीले अपराधिक गतिविधि रोक्नमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

‘सामाजिक विकृती निर्मुल पार्न प्रहरी लागि परेकै छ’ डिएसपी चौधरीले भने, ‘सवारी दुर्घटना रोक्न समेत मादक पदार्थ सेवन गर्ने चालकहरुमाथि कडा निगरानी राखेर प्रहरीले गतिविधि सञ्चालन गर्दै आएको छ ।’ उनले लागु औषधी ओसार पसार तथा सेवन गर्ने व्यक्तीले नयाँ तरिका अपनाएकाले प्रहरीले पनि नयाँ तरिकाबाट सुक्ष्म अनुसन्धान अघि बढाएको बताए ।
साभारः पश्चिमनेपाल ।