वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ ? अब अनलाइनबाटै श्रम इजाजत लिन सकिनेछ, फारम कसरी भर्ने ?


१० मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले श्रम इजाजत जारी गर्न अब लाइनमा बस्नु नपर्ने व्यवस्था गर्नै लागेको छ । सरकारले अब अनलाइन सिस्टमबाटै श्रम इजाजत लिने प्रणालीको सुरुवात गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले पहिलो चरणमा व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियालाई अनलाइन सिस्टममा लैजाने अन्तिम तयारी गरेको हो । अबको १० दिनभित्र यस्तो सुविधा सहितको अनलाइन सिस्टम सुरुवात गरिने विभागकी निर्देशक रमा भट्टराईले अनलाइनखबरलाई जानकारी दिइन् ।THE TRITNA

कुनै प्राविधिक जटिलता नआएर विभागले मंसिर १५ गतेदेखि यो सिस्टम लागू गर्ने उनले बताइन् । अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार काठमाडौंको तहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा पुग्नुपर्ने छैन । श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुनेछ ।

यसले कामदारलाई अहिले विभागमा हुने सास्ती घट्ने र दलालहरुको ठगी नियन्त्रण हुने सरकारको विश्वास छ ।

व्यक्तिगत स्वीकृतिबाट सुरुवात

यो सिस्टमलाई विभागले परीक्षणका रुपमा व्यक्तिगत श्रम स्वीकृति लिनेहरुका लागि मात्रै खुला गर्ने तयारी गरेको प्रवक्ता भट्टराईले बताइन् । संस्थागत श्रम स्वीकृतिका लागि भने व्यक्तिगतको परीक्षण सफल भएपछि मात्रै लग्ने तयारी विभागको छ ।

‘यसले कामदारलाई घन्टौं लाइनमा बसेर बैंकमा शुल्क तिर्नुपर्ने र फेरि विभागको कार्यालमय पुगेर पनि लाइनमै लामो समय बिताउनुपर्ने अवस्थालाई सहज गर्नेछ’ प्रवक्ता भट्टराईले भनिन्-‘यसले कामदारलाई अनलाइनमार्फत नै आफ्ना कागजी प्रक्रियाहरु अघि बढाउन सहज पार्नेछ ।’

अनलाइन आवदेन

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एर्फइआईएमएस) नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा व्यक्तिगत रुपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ ।

सुरुवातमा व्यक्तिगत पहलमा आएको भिसामा विदेश जान चाहेका युवाले एर्फइआईएमएस सिस्टममा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्नेछ । यो इमेल आइडी बनाए जस्तै हुनेछ ।

यसमा आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरण लायात सबै कानुनी व्यक्तिगत डिटेल अनलाइनमा राख्नुपर्छ । यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आफ्नो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्छ । यो फेसबुक बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरेनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिकै प्रयोग गर्न सक्छन् ।

कसरी गर्ने ?

यो आइडी बनाएपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्छ । जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रुपमा स्वीकार गर्छ ।

यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ । त्यसअनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । अनलाइन आवेदन गरेपछि तपाईंको प्रक्रिया प्रमाणित -एप्रोभ) भएको जानकारी विभागले कामदारकै इमेलमा पठाउँछ ।

बैंकिङ प्रक्रिया पनि सरल हुने

त्यसपछि बैंकमा तोकिएको शुल्क जम्मा गर्न सकिनेछ । यो सिस्टम सुरु भएपछि अहिलेजस्तो ताहाचलमै रहेका सीमित बैंकका काउन्टरमा हैन, देशका ठूला बाणिज्य बैंकमा जुनसुकै शाखाबाट सरकारको खातामा रकम जम्मा गराउन सकिनेछ ।

विभागले झण्डै २० वटा बैंकसँग कामदारले जहाँसुकैबाट रकम जम्मा गर्न सक्ने गरी सम्झौताको तयारी गरेको छ । अहिले सीमित बैंकमा केही काउन्टरबाट मात्रै सरकारले तोकेको शुल्क तिर्नुपर्दा कामदार घन्टौं लाममा बस्नुपर्ने समस्यामा छन् ।

प्रक्रियाका सबै रेकर्ड सरकारसँग

त्यसपछि विदेश जानु अघि लनुपर्ने ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ । त्यहाँ तपाईले ‘थम्प्स’ गरेपछि विभागमा यो जानकारी पुग्छ ।

मेडिकलका लागि पुग्दा पनि यसैगरी विद्युतीय हाजिरी हुनेछ । मेडिकलले पनि सम्बन्धित व्यक्तिको मेडिकल रिपोर्ट सरकारको सिस्टममा पठाउँछ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिले गरेका बीमाका सबै रेकर्ड पनि यो सिस्टममा स्वतः जान्छ । यसका लागि विभागले बीमा कम्पनीहरुसँगको सहकार्यमा विशेष व्यवस्था गरेको छ ।

यी हरेक प्रक्रिया पुरा भएपछि सिस्टमले कामदारको इमेलमा नोटिफिकेशन पठाउँछ । यसका आधारमा कामदारले आफ्नो कागजी प्रक्रिया कहाँ पुगेको छ भन्ने सजिलै जाकारी पाउनेछन् ।

श्रम इजाजत नवीकरण गर्नेले भने आरियन्टेशन र मेडिकल गर्नुपर्दैन । विदेश गएर फर्किएकाहरुको रेकर्ड विभागको सिस्टममा हुने भएकाले यो प्रक्रिया नभिएपनि नीकवरणलाई सिस्टमले प्रमाणित गर्नेछ ।

आफ्ना सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि सेवाग्राही विभागको कार्यालयमा पासपोर्ट लिएर जानुपर्नेछ । त्यसमा श्रम अधिकारीले श्रम स्वीकृति दिएर स्टीकर टाँसिदिनेछन् ।

एकाउन्टबाटै सहयोग पनि माग्न सकिने

केही समयपछि म्यानपावर एजेन्सीले पनि यही सिस्टममा रहेर श्रम का लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सिस्टम सुरु भएपछि एर्फइआईएमएस सिस्टममा बन्ने आफ्नो अनलाइन एकाउन्टबाट सरकारसँग आफ्ना जिज्ञासा र गुनासा छन् भने पनि म्यासेजका रुपमा लेख्न सकिनेछ ।

यसलाई विभागले हेरेर तपाईंलाई आवश्यक सहयोग पनि गर्नेछ । यसका लागि एकाउन्टको युजर र पासवर्ड भने तपाईंसँग सुरक्षित हुनुपर्छ । विदेशमा रहँदा आफुलाई परेका समस्याहरु सरकारलाई जानकारी गराउने यो भरपर्दो माध्यम हुनेछ ।

विभागकाअनुसार यसलाई जटिल रुपमा लिनुपर्ने कुनै कुरा हुने छैन, किनभने यो जिमेल र फेसबुक चलाएजस्तै हो ।

यही सिस्टमको प्रयोगबाट भविष्यमा विदेशमा वा एयरपोर्टमा नै श्रम इजाजत नवीकरणको व्यवस्था गर्न पनि सहज हुनेछ । सरकारले विदशेमै श्रम इजाजत दिने नीति लिएकाले यो सिस्टम अब सरकारको सहयोगी बन्नेछ ।

बैंकिङ र बीमाका प्रक्रिया पूरा गरेकालाई विदशेमै श्रम इजाजत दिन समस्या हुनेछैन । कामदारले आवश्यक प्रक्रिया पूरा गरेको जानकारी विभागको सिस्टममा स्वतः जाने भएकाले यसले थप नयाँ व्यवस्था गर्न सहज हुनेछ ।

साभारः अनलाइन खबर