जाजरकोटको दुर्गम गाउँमा निशुल्क स्वास्थ्य शिविर


घरदैलोमै उपचार पाउदा स्थानीय खुशी

img_3917जाजरकोट १५, मंसिर । जीवनका सात दशक विताईसकेकी जाजरकोट डाडागाँउ १ कि कुमारी बुढाले पहिलो पटक आफ्नै घरनजिकै निशुल्क उपचार सेवा पाउँदा निकै खुसी छन् । लामो समय देखी घुडा दुख्ने समस्याबाट पिडित मैसरीले निशुल्क परामर्श र औषधी पाउँदा दंग छिन् । घरको आर्थिक अवस्था निकै नाजुक रहेकी कुमारीले अहिले सम्म अस्पताल र चिकित्सकको मुख समेत देख्न पाएकी थिईनन् ।
लहँ, डाँडागाँउ र खगेनकोट गाविसको सहयोग तथा समुन्वयमा, सुर्खेत हस्पिटल प्रालीको प्राविधिक सहयोग र नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लहँको आयोजनामा जाजरकोटको अति दुर्गम खगेनकोटको दल्लीमा भएको एक दिने
निशुल्क स्वास्थ्य शिविर मैसरी जस्तै धेरै विपन्न नागरिकले उपचार सेवा पाएका छन् । लामो समय दम र खोकीबाट पिडित लहँ २ का ७४ बर्षिय साउने विश्वकर्मा पनि शिविरमा निशुल्क रुपमा उपचार पाएकोमा खुसी ब्यक्त गरे । ‘उपचार गर्न जाने पैसा नाई कसरी उपचार गर्ने ’–उनले आफ्नो पिडा सुनाउँदै भने –‘ बरु लामो समय रोग सहेरै बसे ।’ उपचार पाएपछि अझै केही समय बाँच्ने आशा पलाएको उनले सुनाए ।
शनिवार भएको शिविरमा ५ सय १५ जनाको उपचार गरिएको आयोजकले जनाएको छ । उपचार गरिएका मध्य २ सय ६५ जना हाडजोर्नी , नसा , दम तथा खोकी सम्बन्धी रोग , १ सय ५० जना महिलामा आँङ ( पाठेघर ) खस्ने समस्या र बालरोग सम्बन्धी एक सय बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको सुर्खेत अस्पतालका हाड तथा नसा रोग विशेषज्ञ डा. रुपक कडेंलले जानकारी दिए । उनले शिविरमा आएका मध्य अधिकांश पुरुषमा दम र अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको बताए । जनचेना र स्वास्थ्य सेवाको अभावमा धेरैले लामो समय रोग लुकाएर राखेको उनको भनाई छ । शिविरमा सुर्खेत अस्पतालबाट एक जना हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सहित ५ जना चिकित्सक , प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका दुई जना चिकित्सक र अन्य स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो । डा. कडेलका अनुसार हाडजोर्नी , नसा , दम लगायतका रोगका ५० जना विरामीलाई थप उपचारको लागी सुर्खेत बोलाईएको छ । उनीहरुको त्यहाँ पनि निशुल्क उपचार हुने छ ।

शिविर आयोजनाको लागि सहयोग गर्नु भएका मध्यपश्चिम क्षेत्रीय अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेल, नागरिक दैनिक पश्चिमेलीका सम्पादक कलेन्द्र सेजुवाल, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसी, बरिष्ठ फिजिसियन डाक्टर केएन पौडेल लगायतले दुर्गम गाउँका जानतालाई निशुल्क स्वास्थ्य शिविरले निकै सहयोग गरेको बताउनु भयो ।
स्थानीय समाजसेवा तथा पत्रकार प्रकाश पन्तको विशेष पहलमा दुर्गम गाउँमा पहिलो पटक निशुल्क स्वास्थ्य शिविर भएको हो ।

१९ बर्षपछि पाठेघर खसेको उपचार
लहँ ६ की ५० बर्षिय हिरा बुढाको पाठेघर खसेको १९ बर्ष भयो अहिले सम्म उपचार गराएकी थिईनन् । आर्थिक अभावले गर्दा हाल सम्म उपचार गर्न नसकेको उनले बताईन । घर नजिकै शिविर बसेपछि उनले १९ बर्षपछि उपचार गर्ने मौका पाईन । चार सन्तानकी आमा हिराले १५ बर्षको उमेरमै विवाह गरेकी थिईन । कान्छो छोरा जन्मिएको थियो म ३० बर्षकी थिएँ त्यतिवेलै आङ खसेको हो । घरको काम सवै आफैले गर्नु पथ्र्यो श्रीमान कमाई गर्न भारत गएका थिए उनले भनिन शुरु शुरुमा खासै समस्या नभएपनि अहिले निकै पिडा हुने गरेको बताईन । उनलाई योनीबाट सेतो पानी बग्ने , हिड्न गाह्रो हुने , ढाड दुख्ने समस्याले सताईरहेको छ ।

लामो समय पिडा सहेरै विताएकी उनको रिङ प्रेसरीले काम नगर्ने भएकोले अप्रेशनका लागी सुर्खेत बोलाईएको मेडिकल अधिकृत डा.जानुका गैरैले बताईन । तत्काल केही औषधी दिएका छौ त्यसले उनलाई केही समय राहत मिल्ने र पछि पाठेघर नै निकाले फाल्नु पर्ने अवस्थामा पुगेको डा. गैरेको भनाई छ । समयमै उपचार गरेको भए यति समस्या आउने थिएन हेलचक्रयाईले गर्दा अहिले समस्या भयो डा. गैरेले भनिन ।
त्यस्तै ,पाठेघर खसेको १२ बर्ष पछि लहँ ३ मानचौरकी ३३ बर्षिय सीता वलीले उपचार पाएकी छन् । १४ बर्षकै उमेरमा विवाह गरेर १५ बर्षको उमेरमा बच्चा जन्माएकी सीता ५ सन्तानकी आमा हुन् । तेस्रो सन्तान जन्मेको थिए म त्यतिबेला २१ बर्षकी थिए । सुत्केरी भएको एक महिना नपुग्दै घाँस काट्ेर ल्याउनु पथ्र्यो त्यसैवेला देखी आँङ खस्न शुरु भएको सीताले बताईन । उनले लाजले गर्दा कसै सँग आफ्नो समस्या नसुनाएको बताईन । पिडा सहेरै बसेकी थिए शिविर आएको थाह पाएपछि उपचारको लागी यहाँ आएकी हुँ उनले भनिन । ‘डाक्टर सावले रिङ प्रेसरी राखी दिनु भएको छ त्यसले पनि ठीक नभए अप्रेशन नै गरेर फाल्नु पर्छ ’भन्नुभयो उनले भनिन ।
१४ बर्षकै उमेरमा विवाह गरेकी लहँ २ भारगाँउकी २२ बर्षिया सरीता वि.क.को १५ बर्षमै पहिलो बच्चा जन्मियो । १८ बर्षको उमेरमा अर्का बच्चा जन्मियो । श्रीमान विदेश जानु भएको थियो बच्चा जन्मिएको १५ दिनमै घरको सवै कामकाज गर्दा गदै पाठेघर खसेको पत्तै भएन सरीतालाई । उनलाई सानै उमेरमा विवाह गरेकोमा पछुतो लागेको छ । उनले शिविरका डाक्टरले खाने औषधी दिएको बताईन ।
हिरा, सीता र सरीता मात्र होईन जिल्लाका ग्रामिण भेगका धेरैजसो महिलाहरु पाठेघर खस्ने समस्याबाट पिडित छन् । शिविरमा उपचारको लागी आएका २ सय ३७ महिला मध्य १ सय ५० जनामा पाठेघर खस्ने समस्या देखिएको छ । सुर्खेत अस्पतालकी मेडिकल अधिकृत अनिता दाहालले जाजरकोटका अधिकांश महिलामा पाठेघर खस्ने समस्या देखिएको बताईन ।

IMG_3870कम उमेरमै विवाह गर्ने , धेरै सन्तान जन्माउने , सुत्केरी अवस्थामा कामको बोझ , पोषणयुक्त खानाको अभाव , जनचेनाको अभाव , स्वास्थ्य संस्थाको पहुँच नहुनु आदि कारणले पाठेघर खस्ने समस्या विकराल भएको डा. दाहालको भनाई छ । शिविरमा आएका मध्य पाठेघर खस्ने समस्या भएका केहीलाई औषधी मात्र दिईएको , केहीलाई रिङ राखिएको र ५० जनालाई अप्रेशनका लागी सुर्खेत बोलाईएको डा. दाहालले बताईन । सुर्खेत बोलाईएका पाठेघर खसेका महिलाको निशुल्क उपचार हुनेछ ।

साभारः राराखबर अनलाइन