उज्यालो जुम्ला अभियानको सर्भे सम्पन्न


३ बर्षमा जुम्ला उज्यालो बनाउने महतको दावी

हरिकृष्ण कुमाई जुम्ला,
पुस २२,
जुम्लाको तातोपानी गाँउपालिका ४ झारगिडिमा १ मेगावाट विद्युत उत्पादनका लागि प्रारम्भिक सर्भे गरिएको छ । राष्ट्रिय प्रसारण लाईन विस्तार नहुदा अन्धकार झेलिरहेको जुम्लामा १ मेगावाट विद्युतको सर्भे संगै स्थानीयमा खुसी छाएको छ । नवनिर्वाचित प्रतिनिधी सभा सदस्य गजेन्द्र बहादुर महतको पहलमा जिल्लामै पहिलो पटक एक मेगावाटको विद्युत सर्भे गरिएको हो ।

स्थानीय हाँकु खोलाबाट २/३ किलोवाट विधुत उत्पादन हुने संभावना भएपनि पहिलो प्रयास स्वरुप १ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष लिइएको हो । तातोपानी गाउँपालिकाका अगुवा दिपक गौतमले विद्युत सर्भेले कर्णालीका नदिनालावाट पानी खेर गईरहेको बेला प्रतिनिधीसभा सदस्य गजेन्द्रबहादुर महतले पहिलो काम विद्युत उत्पादन बाटै थालनी गर्नु जिल्लाकै लागि सुखद समाचार बनेको छ ।

सर्भे पछि टोली काठमाण्डौ फर्के लगत्तै प्रतिवेदनका आधारमा लगानी खोजिने भएको छ । प्रतिनिधी सभा सदस्य महतले जुम्ला सधै अन्धकार झेलिरहनु नपर्ने बताउँदै विद्युत निर्माणका लागि दाता खोज्ने, सरकार संग माग गर्ने र सांसदकोषको रकम विद्युतमा खर्चने तथा ऋण गरेरै भएपनि ३ बर्षमा उज्यालो जुम्ला वनाउने अभियान सपन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्युत, सडक, खानेपानी लगायतका गौरवका आयोजना सञ्चालनमा आफ्नो सँधै जोड हुने बताउँदै सदस्य महतले १ मेगावाट विद्युतले जिल्लाको अन्धकार पन्छाउदै उज्यालोको अनुभुति दिनेमा ढुक्क हुँदै विद्युत उत्पादन हुने कुरामा कसैले शंका नगर्न पनि आग्रह गरे ।