९ माघ पाँचथर : पाँचथरको ओयाम–१ फाक्लुङमाका डेढ वर्षीय बालक दिप्सन राईलाई बोक्सी लागेको भन्दै फलाम र ढुंगा तपाएर डाम्ने धामी (बिजुवा) सुकबहादुर राई पक्राउ परेका छन् ।
झाडापखाला लागेका बालकलाई बोक्सी लागेको भन्दै ढुंगा र फलाम तताएर बालक घाइते बनाएपछि पाँचथर प्रहरीले घटना भएको १५ दिनपछि उनलाई पक्राउ गरेको हो ।
स्थानीय विजुवाहरु सुकबहादुर र तिलबहादुरले ओयाम–१ का धनवहादुर र उर्मिला राईका १५ महिने छोरा दिप्सनलाई पुष २४ गते डाम्दा भएको घाउको उपचार पनि नगराएको जानकारी आएपछि ओयामस्थित प्रहरी चौकी चरिभञ्याङबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिहीबार पक्राउ परेका विजुवा सुकबहादुरलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
बालकलाई पाँचथर जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ । पीडकलाई यातना तथा क्षतिपूर्ति र बालअधिकार ऐन अन्तरगत मुद्वा चलाउने तयारी भइरहेको उनको भनाइ छ ।
तातो ढुंगा र फलामले डामिएका बालकको देव्रे तिघ्राको घाउ पाकेकोले केही समयसम्म डाक्टरकै निगरानीमा उपचार गर्नुपर्ने पाँचथर अस्पतालले जनाएको छ ।
दुई दिनसम्म झाडापखाला निको नभएपछि चिन्ता गर्नका लागि विजुवाहरु बोलाइएको थियो । पुस २४ साँझ आएका उनीहरुले नानीलाई बोक्सी लागेकाले बोक्सी डाम्नुपर्छ भन्दै ढुंगा तताउन लगाई तातो ढुंगामाथि बालकलाई बसाएपछि गहिरो घाउ भएको आमा उर्मिला बताउँछिन् ।
‘धामीहरुले निको हुन्छ विश्वास गर्नु भनेपछि विश्वासमा परियो’, उनले भनिन्, ‘अन्धविश्वासले बच्चाको यो हालत भयो ।’
फलाम र ढुंगाले डामेको १३ दिनपछि मात्र बालकलाई स्थानियको सहयोगमा सदरमुकाम ल्याइएको थियो ।
साभारः अन्नपूर्ण पोष्ट



Milan Shrestha । ९ माघ २०७२, शनिबार ०८:२५ बजे